२०८१ बैशाख २४, सोमबार    

एमालले बनायो उम्मेदवार छनौट मापदण्ड, मकवानपुरमा छिट्टै उम्मेदवार तय गरिने

२०७८ चैत्र २, बुधबार १४:२० बजे

नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै उम्मेदवार छनौट गर्ने कार्यविधि बनाएको छ ।

केन्द्रले कार्यविधि तयार गरेसँगै मकवानपुरमा भने छिट्टोभन्दा छिट्टो उम्मेदवार तय गर्ने तयारी सुरु भएको छ । नेकपा एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले यसै महिनाभित्रमा उम्मेदवार घोषणा गरिसक्ने दावी गरेको छ । ‘हामीले आन्तरिक तयारी गरिरहेका छौं । छिट्टोभन्दा छिट्टो उम्मेदवारी घोषणा गरेर घरदैलोमा होमिने छौं ।’, उनले भने ।

नेकपा एमालेले महानगरपालिका तथा उपमहानगरपालिकाको मेयर तथा उपमेयर उम्मेदवार केन्द्रले छनोट गर्ने भएको छ । जसअनुसार महानगर र उपमहानगरपालिकाको मेयर तथा उपमेयर उम्मेदवार केन्द्रले नै तय गर्नेछ । प्रदेश कमिटीको सिफारिसमा महानगरपालिका तथा उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार केन्द्रले गर्ने भएको हो । महानगरपालिकाका वडाध्यक्ष र सदस्यहरुको बारेमा निर्णय प्रदेश कमिटीले गर्नेछ ।

नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवारको निर्णय भने प्रदेश कमिटीले गर्ने छ । ती उम्मेदवारहरुको सिफारिस जिल्ला कमिटीले गर्नेछन् । वडाध्यक्षको उम्मेदवारहरुको जिल्ला कमिटीले निर्णय गर्ने छ । पालिका कमिटीहरुको सिफारिसमा जिल्लाले यस विषयमा निर्णय गर्नेछ । कुनै स्थानका उम्मेदवारहरुको बारेमा विवाद भएमा एक तह माथिको कमिटीले त्यस विषयमा निर्णय गर्नेछ ।

उम्मेदवार छनोटको मापदण्ड चैत ९ र १० गते हुने केन्द्रीय कमिटीको बैठकले तय गर्ने बताइएको छ ।