२०८० चैत्र १६, शुक्रबार    

वाग्मतीको मुख्यमन्त्रीमा राप्रपाको दाबी

२०७९ पौष १४, बिहीबार १८:०५ बजे

प्रदेश संरचना खारेजीको माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ । प्रदेशमा सरकार गठन गर्न आफू निर्णायक भएपछि राप्रपाले मुख्यमन्त्री दाबी गरेको हो ।

‘प्रदेशको मुख्यमन्त्रीमा हाम्रो पार्टीको दाबी छ । केन्द्रीय सरकारमा हामी सहभागी हुने भनेका छौं । सोहीअनुसार प्रदेशमा पनि हुन्छौं,’ राप्रपा संसदीय दलका नेता उद्धव थापाले सरकारको नेतृत्व गर्ने विषयमा गठबन्धनमा छलफल भइरहेको बताए । ‘सात प्रदेशमध्ये एउटा प्रदेशमा हामीले नेतृत्व गर्नेछौं । पार्टीका शीर्ष नेतृत्वले यस विषय छिट्टै टुंग्याउनेमा हामी विश्वस्त छौं,’ उनले भने । वाग्मतीमा सांसदको संख्या बढी भएका कारण नेतृत्व लिने सम्भावना उच्च रहेको बुझिएको छ ।

केन्द्रीय सत्ता समीकरणमा फेरबदल भएपछि वाग्मतीमा सरकार गठनका लागि नयाँ विकल्पहरू देखिएका छन्  । प्रदेशमा कुनै पनि दलको प्रस्ट बहुमत नभएकाले तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता यहाँ रहेको छ । हालको अवस्था यस प्रदेशको सत्ताको साँचो राप्रपासँग रहेको छ ।

११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ । सांसद संख्याको आधारमा सरकार गठनका लागि नयाँ गठबन्धनमा राप्रपा निर्णायक शक्तिको रुपमा देखिएको छ । राप्रपाले केन्द्रमा सरकारलाई समर्थन गरे पनि आफू सरकारमा गएको छैन । सोही रणनीति प्रदेशमा पनि अख्तियार गरे स्वतः केन्द्रकै समीकरणअनुसार प्रदेशमा पनि सरकार बन्छ ।

प्रदेशसभामा एमालेका २७, माओवादीका २१ र राप्रपाका १३ गरी ६१ जना सांसद पुग्छन् । अर्कोतर्फ राप्रपा र एकीकृत समाजवादीसाग तालमेल गरे कांग्रेसको पनि सरकार बन्ने सम्भावना छ । कांग्रेसलाई सरकार बनाउन १९ सांसदको समर्थन भए पुग्छ । कांग्रेसलाई राप्रपाका १३, एकीकृत समाजवादीका ७ जना सांसदले साथ दिएको खण्डमा केन्द्रीय समीकरणविपरीत वाग्मतीमा सरकार बन्न सक्छ ।

हालसम्म प्रदेशमा सरकारको विषयमा स्पष्ट खाका आएको छैन‚ जसका कारण मुख्यमन्त्री कुन पार्टीको हुने अझै स्पष्ट छैन । एमालेबाट संसदीय दलको नेता चयन भएका जगनाथ थपलिया मुख्यमन्त्रीको बलिया प्रत्याशी हुन् । माओवादीले अझैसम्म पनि संसदीय दलको नेता टुंग्याउन सकेको छैन ।