बागमती प्रदेश सरकारले बनाएको राजस्व सुधार अध्ययन समितिले आफ्नो प्रतिवेदन बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेसमक्ष बुझाएको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा समितिका संयोजक किशोर जंग कार्कीसहितको समितिका सदस्यहरुले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको उपस्थितिमा प्रतिवेदन बुझाइएको हो ।
प्रदेशको राजस्व वृद्धि र नीतिगत सुधारका लागि अध्ययन गर्न तीन महिना समिति गठन गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री लामाले अध्ययन प्रतिवेदन अध्ययनमा मात्र सीमित हुन नहुने भन्दै प्रतिवेदन कार्यान्वयन गरिने प्रतिबद्धता जनाए ।
उनले आत्मनिर्भर अर्थतन्त्र आवश्यकभएको भन्दै नीतिगत सुधारबाट मात्र दिगो विकास हुने बताए ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेले नीतिगत सुधारमा भएका कानुनी समस्या समाधान गरी अगाडि बढ्नु आवश्यक भएको बताए । उनले अध्ययन प्रतिवेदनले प्रदेशको राजस्व सुधारमा सहयोग पुग्ने दावी गरे ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले प्रतिवेदनले दिएका सुझावलाई आगामी आर्थिक वर्षको बजेट बनाउँदा समेट्ने भन्दै प्रतिवेशन प्रदेशको आर्थिक र नीतिगत सुधारमा महत्वपूर्ण दस्ताबेज हुने दावी गरे ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले प्रतिवेदनले दिएका सुझावले प्रदेशको राजस्व र आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा समितिका संयोजक कार्कीले प्रतिवेदनमा समेटिएका विषय बस्तुका बारेमा जानकारी गराएका थिए ।