२०८२ बैशाख ११, बिहीबार    

महासंघ अध्यक्ष चन्द्र ढकालद्वारा आर्थिक गतिविधिमा सुधार भएकोमा खुशी व्यक्त

२०८१ भाद्र ७, शुक्रबार १६:०३ बजे

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेकाले यो अवसर सदुपयोग गर्न आग्रह गरेका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले काठमाण्डौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकारले स्थायित्व दिने विश्वासमा अर्थतन्त्रमा सुधारका स्पष्ट सकेत देखिएको बताए । बजारमा देखिएको सुधारलाई ध्यान दिएर स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सरकार र निजी क्षेत्र बिच थप सहकार्यका लागि पनि अध्यक्ष ढकालले आग्रह गरे ।

देशभित्र सेयर बजारमा उत्साह छ भने घरजग्गा कारोबार पनि बिस्तारै बढ्न थालेको र कर्जाको मागमा पनि सुधार भइरहेकाले यसलाई अझै चलायमान बनाउन आवश्यक रहेको अध्यक्ष ढकालले उल्लेख गरे । पर्यटक आगमन बढिरहेको, रेमिट्यान्समा हालसम्मकै उच्च देखिएको, विदेशी मुद्राको संञ्चिति पर्याप्त हुँदा भुक्तानी सन्तुलन सहज अवस्थामा भएकाले लगानीकर्ताहरुलाई विश्वासमा लिई काम गर्न सहज वातावरण रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।