२०८१ श्रावण ९, बुधबार    

हेटौंडामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

२०८१ जेठ २८, सोमबार १०:०३ बजे

मकवानपुरको हेटौडामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध परिएको छ ।

गत जेठ २५ गते मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर ९ रजैयामा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिई मोटरसाइकलमा सबार हेटौँडा-८ निवासी निर्मला अधिकारीको मृत्यु भएपछि हालसम्म ग्यास बुलेटधनीलाई सम्पर्कमा नल्याएको भन्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका हुन ।

प्रहरीलाई पटक-पटक अनुरोध गर्दा समेत आफूहरूलाई बेवास्ता गरेको र हालसम्म मृतकको अन्तिम संस्कार गर्न नसकिएको भन्दै आफन्तहरूले राजमार्ग अवरुद्ध गरेका हुन् ।

चितवनबाट हेटौडा तर्फ आउँदै गरेको ए एस २५ डी सी ०२१२ नम्बरको खाली ग्यास बुलेटले विपरीत दिशाबाट जाँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिई भएको दुर्घटनामा अधिकारीको ज्यान गएको थियो ।
 
घटनापछि आफूहरूले प्रहरीलाई पटक-पटक अनुरोध गर्दा पनि सवारी धनीलाई हेटौँडा नझिकाइएको भन्दै आफूहरूले बाध्य भएर राजमार्ग अवरोध गर्नु परेको मृतकका आफन्त सपना श्रेष्ठले नेपाल प्रेसलाई बताइन् ।

मृतक अधिकारीको श्रीमान् गत १८ वर्षबाट सम्पर्कमा नरहेको र मृतकको एक छोरी मात्र रहेको कारण न्यायको लागि आफूहरू आन्दोलित हुनुपरेको उनको भनाइ छ ।

उनीहरूले हेटौँडा-९ को औद्योगिक क्षेत्र अगाडि राजमार्ग अवरोध गरेका हुन् । उक्त क्षेत्रमा अहिले प्रहरी पुगेको छ ।