२०८१ बैशाख १५, शनिबार    

तोकिएको समयभन्दा ३ महिना अगाडि नै बन्यो राप्तीमा पुल

२०७९ असार २७, सोमबार १९:२२ बजे

हेटौंडा–११ नवलपुर र १२ पदमपोखरी जोड्ने पक्की पुल तोकिएको समयभन्दा तीन महिना अगाडि नै निर्माण सम्पन्न भएको छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले २ सय १५ मिटरको पक्की पुल २०७६ असोज २७ गते निर्माण सम्झौता गरेको थियो । निर्माण कम्पनी एलिट कन्स्ट्रक्सन कम्पनी प्रालिले २०७९ असार २४ गते पुल र ७ सय मिटरको एप्रोच सडक मन्त्रालयलाई हस्तान्तरण गरेको छ । 

कम्पनीले कुल ३२ करोड ८८ लाख २९ हजारमा निर्माण सम्पन्न हुने अनुमान गरिएको ४ स्पानको ११ मिटर चौडाइको पुल २७ करोड ४६ लाख २० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक सहदेव भण्डारीका अनुसार पुल २०७९ असोज २६ गते निर्माण सम्पन्न मिति तोकिएको थियो । ‘प्रदेश सरकार गठन भएदेखि हालसम्म ७१ वटा पुल निर्माण भइसकेको छ । जसमध्ये दुईवटा पुल तोकिएको समयभन्दा अगाडि सम्पन्न भएको छ । हामी निर्माण कम्पनीलाई दैनिक ०.०५ प्रशितका दरले बाँकी समयको रकम पुरस्कारस्वरुप उपलब्ध गराउने छौं,’ निर्देशक भण्डारीले भने ।

यसअघि प्रदेशले निर्माण गरेको नुवाकोटको तादी खोलाको ६५ मिटरको पक्की पुल तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको थियो । प्रदेशले ठेक्का आह्वान गरेकोमध्ये हाल ३० वटा पुल निर्माणाधिन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । आगामी आर्थिक वर्षमा करिब २ सय वटा पुलको ठेक्का आह्वान गर्ने तयारीमा निर्देशनालय रहेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि राजु विडारीका अनुसार पर्सा राष्ट्रिय निकुञ्जका कारण पुल निर्माणमा केही समस्या सिर्जना भएको थियो । ‘निकुञ्जसँग समन्वय गरेर पुल निर्माण गर्नुपर्ने कारण केही ढिला सम्पन्न हुन पुग्यो । हामी अझै छिट्टो निर्माण गर्न सक्थ्यौं,’ उनले भने ।

तोकिएको समयअगाडि नै पुल निर्माण सम्पन्न भएपछि स्थानीय खुसी भएका छन् । पक्की पुल नहुँदा स्थानीयलाई विशेष गरी वर्षात्का समयमा सवारीसाधान वारपार गर्न समस्या हुने गरेको थियो । नजिकै रहेको झोलुङ्गे पुलबाट सवारीसाधन सञ्चालन गर्न नमिल्दा स्थानीयमा समस्यामा थिए । पक्की पुल र बाटो निर्माण भएसँगै त्यसक्षेत्रमा उत्पादन हुने खाद्यान्न बाली बजार ल्याउन सहज हुने स्थानीय अशोक दुलालले बताए । उनका अनुसार त्यसक्षेत्रमा पछिल्लो समय फलफूल र तरकारी खेती पनि हुन थालेको छ ।

पुल निर्माण स्थान हेटौंडाबाट करिब ६ किलोमिटर पश्चिममा पर्छ ।