२०८१ बैशाख १७, सोमबार    

मउवा संघको टोली भ्रमणमा, कार्यबाहक अध्यक्षको जिम्मेवारी अधिकारीलाई

२०८० फाल्गुन १४, सोमबार १८:२७ बजे

मकवानपुर उद्योग वाणिज्य संघको टोली फागुन १५ गतेदेखि २० गतेसम्म बंगलादेश भ्रमणमा निस्किएको छ । संस्थागत तथा व्यवसायिक सम्बन्ध विस्तारको उद्देश्यसहित टोली बंगलादेश जाने भएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा २२ सदस्यीय टोलीले भ्रमण गर्ने तय भएको छ भने मउवा संघका पूर्वअध्यक्ष तथा बंगलादेश नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष अरुणराज सुमार्गीले भ्रमण कार्यक्रम संयोजन गरेका छन् । भ्रमणको क्रममा बंगलादेशका स्थानीय उद्योग वाणिज्य संघलगायत संग अन्तरक्रिया हुनेछ ।

भ्रमण टोलीलाई मकवानपुर उद्योग वाणिज्य संघमा सोमबार एक विदाई कार्यक्रम आयोजना गरी भ्रमण सफलताको शुभकामनासहित संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, संघ निवर्तमान अध्यक्ष तथा महासंघ केन्द्रीय सदस्य कृष्ण कटुवाल, उपाध्यक्ष राजु अधिकारी, कोषाध्यक्ष सन्तोष कुमार अर्याललगायतले विदाईसमेत गरेका थिए ।

बंगलादेश नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष एमएम. ओबयदुर रहमानले भ्रमण टोलीलाई निमन्त्रणा गरेका थिए । उनले भ्रमणले व्यापार, व्यवसाय र सांस्कृतिक सम्बन्ध विस्तारमा सघाउ पुग्नेसमेत बताएका छन् ।

भ्रमण टोलीले बंगलादेशको ढाका र कक्स बजार भ्रमण गर्नेछन् । साथै बंगलादेशमा रहेको नेपाली दुतावास र अन्य सरोकारवाला निकायहरु संग अन्तर्क्रिया गर्नेगरी भ्रमण कार्यतालिका रहेको छ ।

संघका कार्यवाहक अध्यक्षको रुपमा वस्तुगत उपाध्यक्ष राजु अधिकारीलाई तोकिएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले अधिकारीलाई भ्रमण अवधिभर कार्यबहाकको जिम्मेवारी प्रदान गरिएको छ ।