२०८१ बैशाख २४, सोमबार    

यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान

२०७९ बैशाख २३, शुक्रबार १७:५८ बजे

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेको छ । आज शुक्रवार काठमाण्डौमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएको जनाएको हो ।

विभागको अनुमानअनुसार आउँदो जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १ का तराईका भूभाग, बाग्मती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँले गएको वर्षमा मनसुन अवधिभर ६ वटा स्टेशनमा वर्षाको रेकर्ड तोडिएको बताउनुभयो । उहाँका अनुसार चरिकोट, खैरहनीटार, बाजुरा, दमौली, खाटमार्फा र जोमसोम स्टेशनमा पहिलाको रेकर्डलाई ब्रेक गरेर मनसुन अवधिमा धेरै पानी परेको हो । त्यो मनसुन वर्षाले ७९ जनाको ज्यान गएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक डा। अर्चना श्रेष्ठले यो वर्ष पनि सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेकोले बेलैमा सचेत रहन आग्रह गर्नुभयो । उहाँले मौसम तथा बाढी पूर्वानुमानको सूचना दिने आ–आफ्नो क्षेत्रको कार्ययोजना बनाउन पनि सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । उपमहानिर्देशक श्रेष्ठले पूर्वानुमान गतिको समय जति नजिक हुन्छ त्यति नै पूर्वानुमानको विश्वसनियता धेरै हुने गरेको र एक हप्ताभन्दा लामो समयको मौसमको पूर्वानुमानमा विश्वसनियता कम हुँदै जाने गरेको बताउनुभयो ।

त्यस्तै वरिष्ठ मौसमविद् डा। इन्दिरा कँडेलले नेपालमा मौसम पूर्वानुमान गर्ने छुट्टै अनुसन्धान केन्द्र नहुँदा समस्या भइरहेको गुनासो गर्नुभयो । उहाँले विभागमा अनुसन्धानका लागि स्किल ह्युमेन रिसर्चु हरूको आवश्यक रहेको बताउनुभयो ।