मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत बागमती गाउँपालिकाको सहीद स्मृति क्लव समूह घ को शीर्षस्थानमा पुगेको छ ।
बुधबार भएको खेलमा चाइनाक्वाटर क्लवसँग ३–२ को जित निकालेसँगै ८ अंक जोडेको सहीद स्मृति शीर्षस्थानमा उक्लिएको हो । सहीद स्मृतिले खेलको पाँचौ मिनेटमा पवन दर्लामीको गोलमार्फत अग्रता लिएको थियो । ५० औं मिनेटमा चाइनाक्वाटरका सुरज जिम्बाले बराबरी गोल फर्काए । ६८ मिनेटमा चाइनााक्वाटरले खेलमा अग्रता लियो । नसिव बर्तौलाको गोलमार्फत चाइनाक्वाटरले अग्रता लिएको हो । २ मिनेटका अन्तरालमा २ गोल थप्दै सहीद स्मृतिले जित सुनिश्चित गरेको हो । सहीद स्मृतिका लागि ७२ मिनेटमा पवन दर्लामी र ७४ मिनेटमा सुरज थिङले गोल गरेका हुन् । २ गोल गरेका पवन दर्लामी खेलको म्यान अफ द म्याच भए ।
यही समूह अन्तर्गत भएको अर्को खेलमा प्रगतिशिल युवा क्लव हेटौंडा १७ ले युनाइटेड नाइन क्लव हेटौंडा ९ लाई ४–० ले हराएको छ । प्रगतिशिलको तर्फबाट तिराज माझीले ह्याट्रिक गर्दा अनिल माझीले एक गोल गरेका थिए । जितसँगै प्रगतिशिल क्लवको ७ अंक भएको छ । खेलको म्यान अफ द म्याच ह्याट्रिककर्ता तिराज माझी घोषित भए ।
यो समूहमा एक खेल कम खेलेको हाँडीखोला यूथ र ४ खेल खेलेको पशुपति युवा क्लवको पनि समान ७ रहेको छ । यसै समूह अन्तर्गतको अर्को खेलमा प्रतिभा क्लवले पशुपति युवा क्लवलाई ४–० ले हराएको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको प्रतिभाले दोस्रो हाफमा ४ गोल गरेको हो ।
प्रतिभाका लागि सुनिल थिङ र सोहित वाइबाले समान दुई÷दुई गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच प्रतिभाका सुनिल थिङ घोषित भए । प्रतिभाले ३ खेल खेल्दा पहिलो जित निकालेको हो । योसँगै प्रतिभाको ३ अंक भएको छ ।