२०८० चैत्र १६, शुक्रबार    

मकवानपुरगढी महिला भलिबल च्याम्पियन

२०७९ आश्विन १३, बिहीबार १०:०२ बजे

मकवानपुरगढी गाउँपालिकाले मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधि जितेको छ । बुधबार हुप्रचौरमा भएको फाइनलमा बकैया गाउँपालिकालाई २५–१५, २५–१९, २५–१३ को सोझो सेटमा पराजित गर्दै मकवानपुरगढीले उपाधि जितेको हो ।

विजेता मकवानपुरगढीले ५० हजार र उपविजेता बकैयाले ३० हजार रुपैयाँ पुरस्कार पाए । विजेतालाई हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले पुरस्कृत गरिन् ।

मकवानपुरगढीकी सुस्मिता योञ्जन उत्कृष्ट खेलाडी घोषित हुँदा गढीकै सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर र रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन घोषित भइन् । मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दीपिका कार्की उदीयमान खेलाडी घोषित भए । हेटौडा उपमहानगरपालिका–४ स्थित मैदानमा भएको प्रतियोगितामा ७ टिमले भाग लिएका थिए ।