२०८१ बैशाख २२, शनिबार    

हेटौंडामा थपियो दैनिक १० लाख लिटर पानी

२०८० जेठ ३१, बुधबार १०:०४ बजे

खडेरीको मार र बढ्दो खपतका कारण हेटौंडाको सहरी क्षेत्रमा पानीको अभाव बढिरहेका बेला हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले सोमबार बेलुकादेखि जोहो बढाएको छ । सुक्खा मौसममा पनि बोर्ड दैनिक १० लाख लिटर पानीको थप स्रोत व्यवस्थापन गर्न सफल भएको हो ।

तीन दिनको प्रयासपछि मकवानपुरको भीमफेदी–१ भैंसेखोलाबाट पानी प्रणालीमा थप गर्न सफल भएको व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले बताए ।

हेटौंडा बजार क्षेत्रमा वितरणका लागि भैंसेखोला किनारमा समवेल निर्माण गरेर पानीको थप व्यवस्थापन गरिएको हो,’ उनले भने । हेटौंडाको मुख्य बजार क्षेत्रमा खानेपानीको मागका तुलनामा आपूर्ति गर्न कम भइरहेको थियो । अभाव अस्थायी रूपमा पूर्ति गर्न बोर्डले ट्यांकरमा पानी वितरण गरिरहेका बेला थप स्रोत जुटाएको हो ।

नेपाली सेनाको मध्यप्रितना हेडक्वार्टर सुपारेटार ब्यारेकसँगैको भैंसे खोलाको किनारमा सात मिटर गहिरो र १० मिटर गोलाइको समवेल निर्माण गरेर खानेपानीको थप स्रोतको व्यवस्थापन गरिएको छ । पानीको थप स्रोत व्यवस्थापन भएसँगै बोर्डले ट्यांकरमार्फत पानी वितरण बन्द गरेको छ । ‘१० लाख लिटर थप पानीको व्यवस्थापन गरिएकाले अब नगरमा पानीको समस्या हुँदैन,’ कार्यकारी निर्देशक सापकोटाले भने, ‘बुधबारदेखि ट्यांकरमा पानी वितरण गर्नु पर्दैन, धारामा पुग्दो पानी आउँछ ।’ सोमबार साँझ ८ बजेदेखि थप पानी संकलन सुरु गरिएको थियो ।

मंगलबार बिहानदेखि साविकै स्वरूपमा पानी वितरण हुने दाबी बोर्डको छ । भैंसेखोला किनारमा निर्माण गरिएको समवेलबाट पानी संकलन गर्न ६ इन्च गोलाइको पाइपलाइन जडान गरिएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले नगरका विभिन्न वडामा २३ हजार ५ सय धारामार्फत दैनिक करिब १ करोड ९८ लाख लिटर पानी वितरण गर्ने तालिका बनाएको छ ।