२०८१ बैशाख २६, बुधबार    

श्रीधर पोखरेललाई कारबाही, सूर्यचन्द्रलाई जिम्मेवारी

२०७९ बैशाख १५, बिहीबार १६:२७ बजे

नेकपा (एस) मकवानपुरको अध्यक्षको जिम्मेवारी सूर्यचन्द्र न्यौपानेलाई दिइएको छ । बिहीबार बसेको सचिवालय बैठकले न्यौपानेलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । न्यौपाने एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला सहइन्चार्ज हुन् ।

यसअघि बुधबार पत्रकार सम्मेलनमार्फत एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेको घोषणा गरेपछि न्यौपानेलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । पोखरेलले बुधबार एकीकृत समाजवादी पार्टी विधि, विधान विपरित गतिविधि गरेको भन्दै पार्टी छाडेको थिए । बिहीबारको बैठकले तत्कालीन अध्यक्ष पोखरेललाई पार्टीबाट निष्काशन गरेको छ । आसन्न स्थानीय चुनावमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदको टिकट नपाएको कारण पोखरेलले पार्टी छोडेको बैठकको निष्कर्ष निकालेको थियो । बैठकले पोखरेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको हो ।

पार्टीमा रहादा कम्युनिष्ट आन्दोलन उठाउने पार्टीका रुपमा एकीकृत समाजवादीलाई आत्मसात गर्ने तर मेयरको टिकट नपाएको रिसमा पार्टीमाथि विभिन्न भ्रामक, कपोलकल्पित आरोप लगाउने कार्यमा पोखरेल लागेकाको बैठकको निष्कर्ष रहेको सो पार्टीका सचिव विष्णु दाहालले जानकारी दिए । पोखरेलले गरेका पार्टीको विषयका कुतर्कको विश्वास नगर्न पनि कार्यकर्तामा अपिल गरेको उनले बताए । बैठकले पार्टी गतिविधि विरुद्ध लागेको भन्दै पोखरेलसहित जिल्ला सदस्य वीरेन्द्र डिसी, देवेन्द्र कोइरालालाई पनि पार्टीबाट निष्काशन गरिएको छ ।