२०८१ माघ २८, सोमबार    

जम्कट्टेलले तत्काल राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने

२०८१ असार २४, सोमबार १६:०२ बजे

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रीय तहमा कांग्रेस–एमालेको गठबन्धन निश्चित बनेसँगै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परिसकेको छ ।

सोमबार सदनको दोस्रो ठूलो दल नेकपा एमालेले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिसकेको छ । वाग्मती प्रदेशमा रहेको ११० सदस्यमध्ये कांग्रेस ३७ र एमाले २७ गरी हालको गठबन्धनसँग ६४ सांसद रहेका छन् । जुन नयाँ सरकार गठन गर्न पर्याप्त हो । कांग्रेस–एमालेबाट सदनमा रहेका सवै दल मिल्दा समेत अब जम्कट्टेल नेतृत्वको सरकार जोगिने अवस्था छैन । आफू अल्पमतमा रहेको थाहा पाएपनि उनी तत्काल राजीनामा नदिएर सदन फेस गर्ने तयारीमा लागेका छन् । माओवादी संसदीय दलको वैठकले समेत उनलाई सदनमा विश्वासको मत लिएर अगाडि बढ्न सुझाएको छ । जसको कारण पनि उनी विश्वाकै मत लिएर अगाडि बढ्ने निष्कर्षमा पुगेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले छिट्टै संसद बैठक आव्हानवान गर्ने र विश्वासको मत लिने दावी गरेका छन् । सत्ता साझेदार दलसँगको छलफलपछि विश्वासको मत लिने मिति तय गर्ने उनको भनाइ छ । ‘छिट्टै विश्वासको मतका लागि सदन आव्हान गर्छु । ३० दिनसम्म कुर्दिन ।’, उनले भने । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएसँगै ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।

संसदको अंक गणितमा सरकार अल्पमतमा रहेकाले बहुमत सिद्ध गर्ने उद्देश्यले संवैधानिक अधिकार प्रयोग गर्ने निष्कर्षमा उनी पुगेका हुन् । ‘संविधान अनुसार एक महिनाभित्र विश्वासको मत लिने व्यवस्था रहेकाले छिट्टै मिति तय गर्नेछु । संविधानको व्यवस्थालाई सुविधाको रूपमा भन्दा पनि प्रक्रियागत रूपमा अघि बढाउनेछु ।’, उनले भने ।

सरकारबाट बाहिरिने क्रममा एमालेले माओवादीलाई सहमतीय सरकार निर्माणमा सहभागी हुन आग्रह गरेपनि उनले त्यसतर्फ कुनै ध्यान दिएनन् । केन्द्रमा राष्ट्रिय सहमतिको सरकार निर्माणको तयारी भइरहेको भन्दै एमालेले प्रदेशमा पनि सहमतीय सरकार गठन गरेर अघि बढ्न सक्ने गरी निर्णय गर्न एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले अनुरोध गरेका थिए । ‘राज्य व्यवस्था र राजनीतिक स्थायित्वको लागि सहमतीय सरकार निर्माण गर्नु आवश्यक रहेको छ ।’, उनले सहमतीय सरकारमा सहभागी हुनेगरी उपयुक्त निर्णय गर्न मुख्यमन्त्री जम्कट्टेललाई आग्रह गरेका थिए ।

एमाले संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजनामन्त्री थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी, ऊर्जा तथा सिाचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले सोमबार मुख्यमन्त्री समक्ष राजीनामा दिएका थिए ।

हाल जम्कट्टेललाई नेकपा (एस), माओवादी केन्द्र र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ । नयाँ सत्ता समीकरणमा वाग्मती प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति बनेको छ । प्रदेश सरकार गठन भएसँगै पहिलो पटक वाग्मतीमा कांग्रेस नेतृत्वको सरकार बन्न लागेको हो । यसअघि ४ जना मुख्यमन्त्रीहुँदासम्म कांग्रेसले अधिकांश समय प्रतीपक्षको बेञ्चमा बिताउनुपरेको थियो ।

सत्ता समीकरण परिवर्तनसँगै जम्कट्टेलले ०७९ माघ ३ गते पहिलो पटक विश्वासको मत लिएका थिए भने एमालेले सरकार छाडेपछि चैत १० मा दोस्रोपटक र कांग्रेसले सरकार छोडेपछि ०८० चैत १९ मा तेस्रोपटक विश्वासको मत लिइसकेका छन् ।

११० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी २१, राप्रपा १३, नेकपा एस ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।