२०८१ बैशाख १९, बुधबार    

घरदैलोमा व्यस्त आनन्दराम, जनमत प्राप्त गर्नेमा ढुक्क

२०७९ कार्तिक १८, शुक्रबार १९:४९ बजे

मतदाता शिक्षा दिन नसकेकै कारण अघिल्लो स्थानीय तहको निर्वाचनमा थोरै मतले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा पराजित भएका कांग्रेस नेता आनन्दराम पराजुली मकवानपुरे जनतामा परिचित नाम हो । मेयरमा पराजित भएको भोलिपल्टैबाट जनताको सुखदुःखको सारथी बनेर हिँडेका उनले यसपटक मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट टिकट पाएका छन् ।

हेटौंडा उपमहानगरको १२ वटा वडा पर्ने यस क्षेत्रमा पराजुली घरदैलो तथा चुनावी कार्यक्रममा व्यस्त रहेका छन् । स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरकै टिकट पाउनसक्ने नेताको रुपमा चित्रित गरिएपनि गठबन्धनका कारण नेकपा (एस) को भागमा परेपछि चित्त बुझाउँदै गठबन्धनलाई जिताउने अभियानमा सक्रिय रहेका थिए । अहिले कांग्रेसले प्रदेशसभा सदस्य पदको टिकट दिएपछि उनीमाथि ‘न्याय’ भएको र ‘जित सुनिश्चित’ रहेको भन्ने मतदाताहरु पनि रहेका छन् ।

घरदैलोका क्रममा उनले आफूसहित प्रतिनिधिसभा सदस्यको उम्मेदवार कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पनि मत मागिरहेका छन् । साथै नातागोता र आफन्त भए मकवानपुरका अन्य स्थानबाट उठेका गठबन्धनका नेताहरुलाई मतदानको लागि भन्न समेत उनले अनुरोध गरिरहेका छन् । पराजुलीले शुक्रबार हेटौंडा ५ र २ नम्बर वडाको घरघरमा पुगेर मत मागेका छन् । ‘अघिल्लो पटक हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा चुनाव लडेकोले पनि मलाई यो पटक धेरै सहज भएको छ’, उनी भन्छन्, ‘मतदाताको साथ, सहयोग, सद्भाव र हौसलाले थप उर्जा मिलेको छ । माहौल निकै राम्रो छ, गठबन्धनको जित सुनिश्चित भैसकेको छ ।’ उनलाई अहिले कांग्रेससहित गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्र, नेकपा (एस), जनमोर्चा लगायतको दलको पनि साथ रहेको छ । उनी गठबन्धन बाहिर रहेका पार्टीका नेता कार्यकर्ताको पनि रोजाई बनिरहेका छन् ।

‘म कांग्रेसको कार्यकर्ता हुँ । म निरन्तर पार्टीलाई मजबुत बनाउन र यहाँका जनताको सुखदुःखमा साथै रहेको छु । चुनावी अभियानको क्रममा पनि मतदाताको धेरै साथ र सहयोग पाएको छु’, पराजुली भन्छन्, ‘पटक पटक चुनाव जितेको एमालेका उम्मेदवारहरुले कुनै एजेण्डा नै नभएपछि अनेक अफवाह र भ्रम फैलाइरहेका छन् । हामी त्यसलाई चिर्दै अघि बढेका छौं ।’ कांग्रेसकै पनि एउटा समूह तपाईंको विरुद्धमा छ भनिन्छ नि ? भन्ने प्रश्नमा उनले यो सब विरोधीले चलाएको अनावश्यक झुटो हल्ला मात्र भएको बताए ।

‘कांग्रेस ठूलो पार्टी हो, यहाँ एकसेएक नेताहरु रहेका छन् । टिकटका लागि मसहित अन्य नेताहरुको पनि दावेदारी थियो । दावेदारी हुनु स्वभाविक पनि हो’, उनले भने, ‘टिकट मेरो नाममा आयो । अहिले सबै नेताहरु मकवानपुरका ६ जनै गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा लागेका छौं । एकजनाले मात्रै हार्दा पनि गठबन्धनप्रति विश्वास नहुने, पार्टीमै समस्या आउने हुनसक्छ भन्ने बिषयमा हामी क्लियर छौ ।’ गठबन्धन र कांग्रेसभित्र कुनै समस्या नरहेको प्रष्ट पार्दै उनले कांग्रेस र गठबन्धनका उम्मेदवार जिताउने अभियानमा लाग्न अनुरोध गरे ।