२०८१ बैशाख २०, बिहीबार    

मेयर आमालाई छोराको ज्ञापनपत्र

२०७९ असार २७, सोमबार १८:५४ बजे

हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामालाई उनका छोरा सुपेन लामाले ज्ञापन पत्र बुझाएका छन् ।

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष रहेका सुपेनले उपमहानगरभित्र शिक्षा क्षेत्रमा विकृति देखापरेको भन्दै ज्ञापन पत्र पेश गरेका हुन् । ज्ञापन पत्र बुझाउँदै उनले विद्यार्थीसँग मेयर कार्यक्रम, अंग्रेजी र नेपाली माध्यमका विद्यार्थीहरुलाई फरक फरक शुल्क लिने व्यवस्थाको खारेजी, हरेक विद्यालयमा एक खेलकुद शिक्षक र एक नर्स अनिवार्य गर्नुपर्ने, शौचालय र धाराको व्यवस्थापन राम्रो हुुनपर्ने माग राखेका थिए ।

उनले उपमहानगरको मेयरलाई आफ्नो आमाको रुपमा भन्दा पनि जनप्रतिनिधिका रुपमा विद्यार्थीको समस्या राखेको बताए । उनले मागहरु सम्बोन्धन नभए अर्को चरणमा छलफल गर्ने बताए । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाले छोराले ज्ञापन पत्र बुझाएता पनि छोराको रुपमा भन्दा पनि विद्यार्थीको रुपमा लिएको बताइन् ।

‘सुपेनले ज्ञापन पत्र बुझाउँदा विद्यार्थीको मुद्दा लिएर आएको हो । सक्ने जति सम्बोधन गर्छौं, तत्काल नसक्ने मागहरु विस्तारै सम्बोधन हुन्छ । कार्यालयमा आउँदा पारिवारिक कुरा नै भएन । उ आफ्नो संगठनको दलबल सहित आएको थियो’, मेयर लामाले बताइन् ।