२०८१ बैशाख ८, शनिबार    

स्वास्थ्य चौकी भवन निर्माणमा लापरवाही

२०७९ भाद्र २, बिहीबार ०८:३९ बजे

मकवानपुरको मनहरी गाउँपालिका १ नम्बर वडामा निर्माणाधीन स्वास्थ्य चौकी भवनमा गम्भीर लापरवाही भएको पाइएको छ । भवनको ढलानबाट फर्मा निकालेसँगै लापरवाही भएको खुलेको हो। ढलान गरेको छतमा बाहिरैबाट फराकिलो स्थानमा रड देखिएको छ ।

अहिले सामाजिक सञ्जालमा उक्त फोटो भाइरल बनेको छ। स्वास्थ्य चौकी भवन निर्माणको काम एउटै स्तरमा नभएको, बिम समेत तोकिएको साइज अनुसार नराखेको र टेडोमेडो गरी बनाएको पाइएको छ। ढलानमा भाइब्रेटर नलगाएकोले फर्मा निकालेपछि बाहिरैबाट ह्वाङ्गै रड देखिएको छ ।

कमसल काम भएको र कमजोर भवन निर्माण हुन लागेको भन्दै स्थानीयले गुनासो गुनासो गरेका छन् । यसमा ठेकेदार कम्पनीसँगै प्राविधिकको समेत लापरवाही भएकोले कारबाहीको दायरामा ल्याउनुपर्ने स्थानीयको माग छ । २५ लाख ८४ हजार ४२५ रुपैयाँ बजेटमा २०७८ असोज २८ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी २०७७ असोज २९ गते सम्झौता भएको थियो ।

तोकिएको समयमा काम सम्पन्न नभएपछि २०७९ असार ३१ गतेसम्म निर्माण सम्पन्न गर्ने भन्दै पहिलो पटक म्याद थप भएको थियो । उक्त समयमा पनि निर्माण सम्पन्न नभएपछि दोस्रो पटकका लागि आगामी असोज १५ सम्मको म्याद थपिएको छ । प्रोपाइटर प्रदीप घिमिरे रहेको गुरुकुल बिल्डर्सले स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का पारेको थियो। मनहरी १ कै स्थानीय नवराज पौडेलले स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा लिएर काम गरिरहेका थिए ।

मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनालले ककाम नै कमजोर गरेकोले अहिले भवनको कमजोरीको फोटो सार्वजनिक भएको प्रतिक्रिया दिए ।  ‘यसमा निर्माण कम्पनी, कम्पनीसँग जिम्मा लिएर काम गर्ने पक्ष र प्राविधिकको पनि कमजोरी देखिन्छ’, खनालले भने, ‘यस विषयमा गाउँपालिका अध्यक्षलाई जानकारी गराएको छु। अध्यक्षज्यूले अनुगमन गर्ने जानकारी दिनुभएको छ ।’

यता गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले स्वास्थ्यचौकी भवन निर्माणमा भएको लापरवाहीको विषयमा जानकारी आएको बताउँदै तुरुन्तै अनुगमनमा जाने बताए । ‘मलाई खबर आएको छ। अनुगमनमा जानेछु । गलत गरेको प्रमाणित भए भुक्तानी रोक्नेछौं,’ कालाखेतीले भने, ‘प्राविधिक लिएर पुग्नेछु । काम बिगारेको भए बनाएपछि मात्रै भुक्तानी दिइनेछ ।’ यस विषयमा प्रतिक्रिया लिन ठेकेदार कम्पनीको स्थानीय प्रतिनिधि नवराज पौडेललाई सम्पर्क गर्दा फोन उठाएनन् ।