२०८१ जेठ ८, मंगलबार    

यसकारण भयो ‘प्रपोज डे’ मै कमल थापाको ‘ब्रेकअप’

२०७८ माघ २५, मंगलबार १८:२५ बजे

भ्यालेन्टाइन सप्ताह चलिरहेको सन्दर्भम मंगलबार ‘प्रपोज डे’ मै नेपाली राजनीतिका चतुर खेलाडी कमल थापाको भने ब्रेकअप भएको छ । ३१ वर्षदेखि सक्रिय राजनीति गरेको राप्रपा छाडेर थापा अहिले नयाँ दल गठनको तयारीमा जुटेका छन् ।

लामो समयदेखि राजा र हिन्दु धर्मको विषयलाई मुल मुद्धा बनाएर राजनीति गरिरहेका थापाको नयाँ दल कस्तो हुन्छ त्यो भने हेर्न बाँकी नै छ । मंगलबार हेटौंडामा राप्रपा परित्यागको घोषणा थापाले गरिसकेका छन् । राप्रपाका पूर्वअध्यक्ष समेत रहेका थापाले गृह नगर आएर अब सक्रिय राजतन्त्रको ऐजेण्डा बोकेर हिँड्न नसक्ने घोषणा गरेका हुन् । उनको यो घोषणा अनुसार अब हिन्दु धर्मको साथमा उनको राजनीति अगाडि बढ्ने संकेत देखिन्छ ।

मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए । उनले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको सार्वजनिक समारोहमा बताइरहेका छन् ।

राजासँग करिब दुईघण्टा लञ्च मिटिङ गरेर अध्यक्षमा उम्मेदवारी दिने निधोमा आफू पुगेको थापाको भनाइ छ । ‘राजाले नै मलाई अझै दशवर्ष सक्रिय राजनीति गर्नुपर्छ भनेका कारण मैले उम्मेदवारी दिएको थिएँ । उहाँले रेष्ट गर भन्नु भएको भए म उठ्दैन थिएँ । मलाई हराएर उहाँले के पाउनुभयो मलाई थाहा छैन ।’, उनले आफूलाई पछाडिबाट छुरा हान्ने काम राजाले गरेको समेत आरोप लगाएका छन् ।

‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बााकी क्रियाशील राजनीति पार्टीको भित्रै विताउने र पाटी मै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’, उनले भने ।