२०८१ बैशाख ८, शनिबार    

कांग्रेस अधिवेशन: डीना र इन्द्रले गरेनन् मतदान

२०७८ फाल्गुन १६, सोमबार १९:१८ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशनअन्तर्गत् सोमबार भएको मतदान प्रक्रियामा केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले भाग लिएनन् ।

जिल्ला अधिवेशनलाई डीना र इन्द्रको शक्ति संघर्षको रुपमा आम कांग्रेस कार्यकर्ताले व्याख्या गरिरहँदा उनीहरु भने मतदान प्रक्रियामै सहभागी नभएका हुन् । कांग्रेस जिल्ला अधिवेशनमा प्राय: केन्द्रको पदाधिकारीस्तरका नेताहरुले मतदान नगर्ने परम्परा रहेको छ । त्यसैको फ्लो गर्दै दुवैजना निर्वाचन प्रक्रियामा सहभागी नभएका हुन् ।

साँझ ६ बजेबाट मतदान प्रक्रिया सकिएको र राति ९ बजेटबाट मतगणना सुरु गरिने मतदान अधिकृत गोपीशर्मा सुवेदीले जानकारी दिए । कुल १८ सय ५१ मतदाता रहेकोमा १७ सय ६७ मत खसेको छ । सभापति पदमा तीनजना उम्मेदवार रहेका छन् । कांग्रेस जिल्ला सचिव बुद्ध लामालाई बानियाँ र पूर्वसचिव आनन्दराम पराजुली डीनाको सहयोग रहेको छ । सभापतिमा उनीहरुसहित कांग्रेस सल्लाहकार जयराम लामिछाने पनि चुनावी मैदानमा रहेका छन् ।

खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्ने सभापतिमा चयन हुनेछन् । अन्यथा पुन: पहिलो र दोस्रो हुनेवीच निर्वाचन हुनेछ ।