२०८१ बैशाख ७, शुक्रबार    

चोटका कारण बेन्जेमा विश्वकपबाट बाहिरिए

२०७९ मंसिर ४, आईतबार ०७:५८ बजे

फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमा चोट बोक्दै विश्वकप २०२२ बाट बाहिरिएका छन् । अभ्यासका क्रममा उनलाई तिघ्रामा चोट लागेको हो । बेन्जेमा सन् २०२२ को बेलन डे’अर विजेता हुन् । उनकै प्रदर्शनको मद्दतमा रियल म्याड्रिडले स्पेनी ला लिगा र युरोपेली च्याम्पियन्स लिग जितेको थियो ।

फ्रान्सेली टिमले भनेको छ, ‘हामी निकै दु:खी छौं र उनको सिघ्र स्वास्थ्य लाभको कामना गर्छौं ।’ चोटका कारण उनले प्रतियोगितामा खेल्न सम्भावना समाप्त भएपछि उनी अब घर फर्कने छन् । यो चोटबाट मुक्त हुन उनलाई कम्तीमा तीन साताको समय चाहिनेछ । फ्रान्स समूह ‘डी’ मा रहेको छ र उसले नोभेम्बर २२ मा अस्ट्रेलियाविरुद्ध पहिलो खेल खेल्नेछ ।

अब टिमका प्रमुख प्रशिक्षक डिडिएर डेसक्याम्पले सोमबारभित्र बेन्जेमाको स्थानमा नयाँ खेलाडी घोषणा गर्नेछन् । फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गरेका ३४ वर्षीय बेन्जेमा बाहिरिनु अर्को ठूलो धक्का रहेको छ । डिफेन्डिङ च्याम्पियन फ्रान्सले यसअघि चोटकै कारण पउल पोग्बा र एन’गोलो कान्टेलाई गुमाइसकेको छ ।