मकवानपुर जिल्लाभरमा रहेको सहकारीबाट उत्पादित सामग्रीको प्रदर्शनी तथा विक्री मेला हेटौंडामा हुने भएको छ । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २० औं स्थापना दिवसको सन्दर्भमा हेटौंडामा तीन दिवसीय महोत्सव हुने भएको हो ।
आयोजकले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मेलाको सम्पूर्ण तयारी पूूरा भएको जनाएको छ । सहकारी अध्यक्ष कल्पना श्रेष्ठका अनुसार पुस १६ गतदेखि १८ गतेसम्म हेटौंडा–२ स्थित आफ्नै कार्यालयको नवनिर्मित भवनमा मेला आयोजना गर्न लागिएको हो । ‘लामो समयदेखि सहकारीले बचत र ऋण मात्र प्रवाह गर्दै रोजगारी पनि सिर्जना गरेको छ भनेर हामीले भनिरहेका थियौं । यसलाई पुष्टी गर्न पनि हामीले मेला आयोजना गर्न लागेका हौं । मेलाबाट पक्कै पनि सहकारीले गर्दै आएको कामले बजार पाउने विश्वास हामीले लिएका छौं ।’, उनले भनिन् ।
मेलामा बचत तथा ऋण मात्र नभई कृषि सहकारीका साथै बहुउद्देश्यीय, कृषि सहकारीहरुले समेत उत्पादन गरेका हस्तकला सामाग्री, खाद्य सामाग्री, मसला सामाग्री, डेरि परिकारहरुलाई मेलाका स्टलमा राखिने बताइन् । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको उनले बताइन् । प्रदर्शनीमा करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरेको र ४० वटा स्टल रहने जनाइएको छ ।
संघले करिब ३ करोड ५० लाख रुपैयाँ खर्चेर ३४ धुर क्षेत्रफलमा २९ सय स्क्वायर फिटको भवन हेटौंडामा निर्माण गरेको छ । संघको स्थापना दिवसको सन्दर्भ पारेर यस भवनको समेत उद्घाटन गरिने व्यवस्थापक सुमित्राकुमारी वाइवाले बताइन् । भवन निर्माण गर्न प्रदेश सरकारबाट ३३ लाख, जिल्लाका ४ वटा पालिकाबाट अनुदान रकम, सदस्य सहकारीबाट करिब ९ लाख भन्दा बढी र संघको जगेडाकोष बजेट व्यवस्था गरिएको थियो ।
प्रदर्शनी मेलामा १६ गते सहकारी हाजिरीजवाफ प्रतियोगिता, १७ गते सहकारी निबन्ध प्रतियोगिता र सहकारीका सचिवबीच सहकारी वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिने भएको छ । निबन्ध प्रतियोगिता कलेज स्तरीय रहने र एकका लागि सबै, सबैका लागि एक विषयवस्तु रहेको उनले बताईन् । वक्तृत्वकलामा भने सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने विषय रहेको जानकारी दिइन् । प्रतियोगितामा उत्कृष्ट चार जनालाई नगद सहित पुरस्कृत गरिने संघले जनाएको छ ।