२०८३ भाद्र १७, बुधबार    

कांग्रेस सभापतिमा त्रिपक्षीय भिडन्तको संकेत

२०७८ माघ २०, बिहीबार १०:४१ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन तय भइसकेको छैन । यसअघि तोकिएको दुईवटा मितिमा जिल्ला अधिवेशन भएन । नजिकिँदै गरेको स्थानीय तह र संसदीय चुनावका कारण कुन तिथि–मितिमा चुनाव हुने हो कुनै ठेगान छैन । तर, उम्मेदावरी घोषणा गर्ने र सम्पर्क कार्यालय भने धमाधम खुलिरहेका छन् ।

कांग्रेस सभापतिमा अहिलेसम्मको अवस्था हेर्दा त्रिपक्षीय भिड्न्त हुने संकेत देखिन्छ । हालसम्म आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेवीच सभापतिमा प्रतिस्पर्धा हुने लगभग सुनिश्चित जस्तै छ । पराजुली र लामा संस्थापन अर्थात देउवा पक्षधर हुन् । लामिछाने संस्थापन इतर अर्थात शेखर कोइराला समूहको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा छन् ।

पराजुलीले हेटौंडा–२, कांग्रेस चोकमा र लामाले हेटौंडा–१० भीमसेन गल्लीमा सम्पर्क कार्यालय राखेको महिनौं भइसक्यो । उनीहरु चुनावी अभियान र मतदाता फकाउन लामो समयदेखि कसरतमा छन् । लामिछानेले भने बुधबार सम्पर्क कार्यालय स्थापना गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । विशेषत पराजुली र लामाको पार्टीमा बढी पकड भएको कार्यकर्ताहरु बताउँछन् । तर, लामिछानेको पनि जिल्लाको उत्तरी क्षेत्रमा बढी प्रभाव रहेको दावी छ ।

अन्तिम समयमा पराजुली र लामावीच एउटै समूहका भएका कारण चुनावी तालमेलको सम्भावना पनि रहेको बुझिन्छ । लामिछाने भने कुनै पनि हालतमा संस्थापन इतरको उपस्थितिलाई यस जिल्लामा बलियो बनाउन सभापतिमा निर्वाचित हुन चाहान्छन् ।

कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’को भूमिका यस निर्वाचनमा निर्णायक हुने दावी गरिएको छ । डीना र बानियाँ संस्थापन पक्षधर हुन् । दुवैले अहिलेसम्म सभापतिको विषयमा मुख खोलिसकेका छैनन् । लामिछानको पक्षमा कांग्रेस पूर्वसभापति रामचन्द्र अर्यालय माइकल र रघुरमण न्यौपाने खुलेर लागिसकेका छन् ।