२०८१ बैशाख १७, सोमबार    

चुुनाव जितेपछि पनि जनतासंगै हुनेछु : डिना

२०७९ कार्तिक २६, शनिबार १८:४० बजे

सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले चुनावपछि पनि निरन्तर जनताको सुखदुःखमै रहने प्रतिबद्धता जनाएकी छिन् ।

मतदाताकोमा पुग्ने क्रममा धेरैले यसअघि जितेर गएका नेताहरु गाउँ नफर्केको गुनासो गरेको भन्दै उनले जनताको समस्या र गुनासो सुन्न कम्तिमा महिनामा एक पटक गाउँगाउँ जाने प्रतिबद्धता जनाएकी हुन् । लोकतान्त्रिक–बाम गठबन्धनको हेटौंडा उपमहानगरस्तरीय संयुक्त युवा भेलालाई सम्बोधन गर्दै उनले भनिन्, ‘म सांसद् बन्नका लागि मात्रै तपाईंहरुको माझ आएको होइन, समानुपातिकको सहज बाटोबाटै सांसद् बन्न सक्थें । जनताको सुखदुःखमा साथै रहन्छु, यहाँका युवामाझ रहेर काम गर्छु भनेर आएको हुँ ।’ पटक पटक मन्त्री र माननीय भएकाहरु पनि अहिले आफूसंगको प्रतिस्पर्धामा रहेको भन्दै डिनाले उनीहरुले मकवानपुरको विकासमा के गरे त्यो खोज्न अनुरोध गरिन् ।

‘चुनावमा मत नपुगेपनि हामी निरन्तर मकवानपुरको विकास र यहाँका जनताको सुखदुःखमा साथै छौं’, उनले भनिन्, ‘यसपटक गठबन्धनका उम्मेदवारलाई जिताउनुहोस् त्यसपछिको ५ बर्ष हेर्नुहोस् ।’ मतदातालाई सचेत गराउने र जनतालाई सही तरिकाले गठबन्धनको पक्षमा भोट हाल्न लगाउन युवाहरुको महत्वपूर्ण भूमिका हुने उनकोे भनाई थियो ।

आफूहरु गठबन्धनको साझा उम्मेदवार भएकोले चुनावपछि पनि साझा भएरै काम गर्ने प्रतिबद्धता जनाइन् । बजारको समस्या समाधान, कलकारखाना स्थापना, रोजगारीको सृजना गर्ने डिनाले योजना सुनाइन् । गर्व गर्न लायक प्रदेश राजधानी बनाउने उनको भनाई थियो ।