२०८३ भाद्र १६, मंगलबार    

कुखुरा परीक्षण गर्ने ल्याब नहुँदा किसान मारमा

२०७८ माघ २२, शनिबार ११:२९ बजे


हेटौंडा/ भीमफेदी गाउँपालिका–२, घट्टेदमारकी मुना थापा आफ्नो खोरको कुखुरा धमाधम मर्न थालेपछि समस्यामा परिन् । उनले मरेको कुखुरा बोकेर हेटौंडा–१० स्थित भेटेनरी पसलमा परीक्षणका लागि ल्याइन् । उक्त भेटेनरी पसलका पशु प्राविधिकले धमाधम मरेको कुखुरा चिरेर रोग पत्ता लगाउन थाले । उनले कुखुराको प्राविधिक चेकजाँच गरिकसेपछि आवश्यक औषधी दिए ।

मुना मात्र होइन, यो समस्या मकवानपुरका अधिकांश कुखुरा पालक किसानको हो । रोग पत्ता लगाउन हेटौंडामा कुखुराको परीक्षण गर्न आवश्यक ल्याब छैन । जसले गर्दा किसानहरु समस्यामा परिरहेका छन् । ल्याब खोल्ने विषयमा किसान र सरोकारवाला दुवै पक्षलाई वास्ता छैन । जसले गर्दा अलि जटिल समस्या देखिने वित्तिकै थप परीक्षण गर्न चितवन र काठमाडौंमा रहेको ल्याबमा पठाउनुपर्ने बाध्यता छ ।

‘हामीसँग उपलब्ध स्रोत र साधनबाट सके जति परीक्षण गर्छौ । सकेनौं भने ल्याब परीक्षणका लागि अन्य जिल्ला पठाउनुपर्ने हुन्छ ।’, भेटेनरी प्राविधिक अजित खड्काले भने । उनका अनुसार जिल्लामा करिब ६० जना भेटेनरी प्राविधिक रहेका छन् । कुनै स्थानमा पनि ल्याब छैन ।

मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष गोकुलनाथ पौडेलले हेटौंडामा ल्याब नहुँदा किसानहरु समस्यामा परिरहेको बताए । ‘निजीक्षेत्रले ल्याब सञ्चालन गर्न अलि गाह्रो हुन्छ । सरकारी क्षेत्र जानकार रहेपनि वास्ता गर्दैन ।’, उनले जिल्लामा कुखुरा पालन गर्ने किसान करिब दुईहजार रहेको बताए । उनका अनुसार जिल्लामा कुखुरा पालन गर्नेको संख्या वर्षेनी घटिरहेको छ । मकवानपुर जिल्लामा मात्र कुखुराको क्षेत्रमा करिब दुई अर्व रुपैयाँ लगानी रहेको अनुमान छ ।

मकवानपुर कुखुराको मासु र अण्डामा आत्मनिर्भर जिल्ला हो । देशको विभिन्न स्थानमा बर्डफ्लु देखिएसँगै ल्याबको महत्व अझै बढेर गएको निष्कर्षमा किसानहरु पुगेका छन् ।