पिप्ले युवा क्लव हेटौंडाको आयोजनामा यही मंसिर २७ गतेदेखि हेटौंडामा १५ वर्ष मुनीको पुरुष खेलाडीहरुको फुटबल प्रतियोगिता हुने भएको छ ।
‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नाराका साथ यू १५ एट ए साइड फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । हेटौंडा ५ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्टले जनही नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजक पिप्ले युवा क्लवका अध्यक्ष सुविन घिमिरेले जानकारी दिए । ‘खुला फुटबल प्रतियोगिता धमाधम भैरहेको छ । खेलाडी उत्पादनमा सघाउ पु¥याउने उद्देश्यका साथ १५ वर्ष मुनीका खेलाडीहरुको प्रतियोगिता आयोजना
गरेका हौं’, अध्यक्ष घिमिरेले भने, ‘२०६६ सालदेखि यता जन्मिएकाहरुले मात्रै खेल्न पाउनेछन् ।’ आयोजकले टिम दर्ता शुल्क ४ हजार रुपैयाँ तोकेको छ ।
बढीमा १६ टिमलाई मात्रै सहभागिता गराउने योजना रहेको क्लवले जनाएको छ । प्रतियोगिताको लागि करिब ४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सुविन घिमिरेकै नेतृत्वमा रहेको एफसी मुण्डियालले अघिल्लो वर्ष यू २१ फुटबल प्रतियोगिता समेत आयोजना भएको थियो ।
खेलाडी उत्पादनका लागि उमेर समूहको प्रतियोगिता आयोजना हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै १५ वर्ष मुनीको फुटबल आयोजना गर्न लागिएको अध्यक्ष घिमिरेले दोहो¥याए ।