२०८१ बैशाख ६, बिहीबार    

सन्दीपको कीर्तिमानी पाँच विकेट

२०७९ भाद्र १३, सोमबार १८:०३ बजे

कप्तान सन्दीप लामिछानेको कीर्तिमानी पाँच विकेटको सहयोगमा नेपाललाई घरेलु टोली केन्याले चौथो टि२० आई खेलमा १ सय २ रनको सामान्य लक्ष्य दिएको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा १ सय १ रनमा अल आउट भयो ।

केन्याका लुकास ओलुओचले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३३ रनको योगदान दिए । नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चेर ५ विकेट लिए । टि२० आईमा सन्दीपले पहिलो पटक पाँच विकेट लिएका हुन् । यो टि२० आईमा नेपाल र सन्दीप दुबैको उत्कृष्ट प्रदर्शन हो ।

ओपनर कालिन्स ओबुयाले ३० बलमा २ चौकासहित २० रनमा आउट भए । केन्याको सुरुवात भने निकै सुस्त रह्यो । सन्दीप लामिछानेले ओबुयालाई साहब आलमबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । एलेक्स ओबान्डा १५ बल खेल्दै ३ रन बनाएर आउट भए । सन्दीपको नवौं ओभरको चौथो बलमा नेहेम्याह ओधियाम्बोलाई विकेटकिपर अर्जुन साउदले ५ रनमा उत्कृष्ट स्टम्पिङ आउट गराए ।

साहब आलमको १३ औं ओभरको पहिलो बलमा रकिप पटेल ज्ञानेन्द्र मल्लबाट ६ रनमा आउट भएपछि केन्या थप समस्यामा परेको थियो । सचिन भुडिया ८ रन, नेल्सन ६ र सुखदीप सिंह ३ रनमा आउट हुँदा केन्या ७४(७ को अवस्थामा पुगेको थियो । त्यसपछि लुकासले केहि इनिङ उकासेका थिए ।

सन्दीप टि२० आईमा पाँच विकेट लिने दोस्रो नेपाली बलर हुन् । नेपालबाट टि२० आईमा उत्कृष्ट प्रदर्शन हो । यसअघि करण केसीले गत मार्चमा टियु मैदानमा पपुवा न्युगिनीविरुद्ध ह्याट्रिकसहित ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए ।

आदिल अन्सारीले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । साहब आलम र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।
पाँच टि२० आई खेलमा नेपालले २–१ ले अघि छ । पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा १८ रनले पराजित हुँदा तेस्रो खेलमा ४ विकेटले विजयी भएको थियो ।