२०८१ बैशाख १६, आईतबार    

मकवानपुरे खेलाडीको विदाइ

२०८० बैशाख २, शनिबार १४:१५ बजे

काठमाडौंमा हुने प्रदेशस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने मकवानपुरे खेलाडीको शनिवार बिदाइ गरिएको छ ।

जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका विभिन्न ६ खेलमा आवद्ध खेलाडी तथा अफिसियल टोलीलाई हेटौंडामा औपचारिक कार्यक्रमकावीच हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले शुभकामना दिँदै बिदाई गरेका हुन् ।

जिल्ला खेलकुद बिकास समिति मकवानपुरको परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख लामाले जिल्लामा बढी मात्रामा पदक ल्याउने मनसायका साथ मैदानमा उत्रन खेलाडीहरुलाई आग्रह गरिन् । खेलमा हारजीत स्वभाविक हो, तर आफ्नो आत्मबल बलियो बनाएर मैदानमा उत्रिए सफलता सम्भब भएको उनको भनाइ थियो ।

गतको वर्षको तुलनामा खेलाडीहरुले राम्रो प्रदर्शन दिन आवश्यक रहेको भन्दै नगर प्रमुख लामाले आफ्नो कमजोरी भन्दा पनि प्रतिस्पर्धीको कम्जोरी नियाल्न सके उपाधि आफ्नो बनाउन सकिने बताइन् ।

कार्यक्रममा उपप्रमुख बानियाँले जिल्लाको नामलाई अव्बल साबित गर्न आग्रह गरे । उनले प्रशिक्षकको ज्ञान र आफ्नो आत्मबललाई दरिलो साथ मैदानमा देखाउन सके उपाधि आफ्नो हुने बताए ।

काठमाडौंमा हुने १३ औं राष्ट्रपती कपमा मकवानपुरबाट सहभागिता जनाउने एथ्लेटिक्स, भलिवल, कवडडी, तेक्वान्दो, कराते, उसुका प्रशिक्षक, म्यानेजर र खेलाडी गरी ९० जनाको टोलीको बिदाइ गरिएको हो । प्रतियोगितामा सहभागी हुने मकवानपुरका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिले ६४ जना खेलाडीलाई ५ दिन बन्द प्रशिक्षणमा राखेको थियो । गतवर्ष मकवानपुरले ६ खेलमा ५ स्वर्ण हात पारेको थियो ।

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा प्रदेश खेलकुद बिकास परिषद्का सदस्य माधब तिमल्सिना, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही जिल्लाका विभिन्न खेलकुद संघका अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको थियो ।