२०८२ असार ३०, सोमबार    

वाग्मती सरकारले पलेशालाई दश र एरिकालाई ५ लाखसहित सम्मान गर्ने

२०८१ आश्विन १, मंगलबार १९:३७ बजे

वाग्मती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक दिलाएकी पलेशा गोवर्धनलाई दशलाख रुपैयाँ नगदसहित सम्मानित गर्ने भएको छ ।

संविधान दिवसको सन्दर्भमा असोज ३ गते हेटौंडामा बजार परिक्रायमासहित नेपाली खेलकुदको इतिहासमा सबैभन्दा ठूलो पदक विजेता खेलाडी पलेशालाई सम्मानित गरिने भएको हो । वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार पलेशासहित १९औं एसियाली खेलकुद (एसियाड) मा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल एरिका श्रेष्ठलाई नगद ५ लाखसहित सम्मानित गरिनेछ ।

पलेशाले अगस्ट ३० मा पेरिसमा तेक्वान्दो खेलमा सर्बियाली खेलाडीलाई पराजित गर्दै नेपाललाई ऐतिहासिक सफलता दिलाएकी थिइन् । उनी नेपालले ओलम्पिकमा सहभागिता जनाउन थालेको ६० वर्षको इतिहासमा पहिलो पटक पदक जित्न सफल खेलाडी हुन् । पलेशाका प्रशिक्षक कविराज नेगीलाई नगद तीन लाख र नेपाल तेक्वान्दो संघ वाग्मती प्रदेश समितिलाई नगद ३ लाख रुपैयाँ प्रदान गरिने सदस्य सचिव लामाले जानकारी दिए ।

एरिकाले एसियाडमा महिला ६८ केजी तौलसमूहमा नेपालका लागि ऐतिहासिक रजत पदक दिलाउन सफल भएकी थिइन् । एसियाडमा यसपटक एकल विधातर्फ पदक जित्ने उनी एकमात्र खेलाडी हुन् । उनी फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग पराजितहुँदा ऐतिहासिक स्वर्ण पदकबाट चुकेकी थिइन् । प्रदेश सरकारले उनको प्रशिक्षक कुशल श्रेष्ठलाई नगद एकलाख रुपैयाँ र नेपाल कराते महासंघ वाग्मती प्रदेश समितिलाई २ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

प्रदेश सरकारले अघिल्लो मन्त्रिपरिषद्को वैठकबाटै यस विषयको निर्णय गर्न खोजेपनि कानुनी जटिलताका कारण केही ढिलागरी पुरस्कार घोषणा गर्दै वितरण गर्न लागेको हो । ‘हामीले खेलाडी तथा प्रशिक्षक सम्मानको तयारी गरिसकेका छौं ।’, सदस्य सचिव लामाले प्रदेशले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई सफलता दिलाउने खेलाडीलाई यसैगरी सम्मान गर्ने बताए ।