२०८१ जेठ ४, शुक्रबार    

हेटौंडा फुटबल एकेडेमीको महिला टोली ‘क्लोज क्याम्प’मा

२०७८ फाल्गुन २८, शनिबार १५:४९ बजे

हेटौंडा फुटबल एकेडेमीको महिला टोली अहिले ‘क्लोज क्याम्प’ मा रहेको छ । चैत १ गतेबाट सुरु हुने ‘प्रथम महिला वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता×’ को लागि अहिले उनीहरु क्लोज क्याम्पमा रहेका हुन् ।

पाँच जना जिल्ला बाहिर र सात जना जिल्ला भित्रका गरी १२ जना खेलाडी अहिले क्याम्पमा रहेको हेटौंडा फुटबल एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामाले बताए । केहीदिन क्याम्पमा राख्दा सिक्न चाहनेको लागि सहज वातावरण र प्रतियोगितामा पनि राम्रो नतिजा आउने उद्देश्यले फागुन १७ गतेदेखि क्याम्पमा राखिएको लामाले बताए । वाग्मती ४ की रीना पाख्रिन, मनहरी ७ की सन्दिपा सामरी, मनहरी ६ की सुनिता मोक्तान, जुना रुम्बा, धनमाया थिङ, मनहरी ८ की सविना मोक्तान, मनहरी १ की दिक्षा मोक्तान क्याम्पमा रहेका छन् ।

यू १४ राष्ट्रिय टिमको सदस्य समेत रहेकी नवलपुरकी शिला मगर, नवलपुरकै रीतु तामाङ, रश्मी मगर, पर्साकी महिमा गुरुङ र चितवनकी अनिता महतो अहिले क्याम्पमा रहेका छन् । क्याम्प बाहेक थाहा नगरपालिका ३ की मल्लिका खत्री, स्वेच्छा गोपाली, हेटौंडा १३ की सजिना स्याङ्तान, सुस्मिता थिङ, हेटौंडा १५ की सीमा थिङ, आक्सा आलेमगर, हेटौंडा १६ की कमला रुम्बा नियमित प्रशिक्षणमा रहेका छन् ।

अहिले एकेडेमीमा २० जना महिला र ३० जना पुरुष गरी ५० जनाले नियमित प्रशिक्षण गरिरहेका छन् । हरेक दिन बिहान ८ बजेबाट ११ बजेसम्म प्रशिक्षण गराउने गरेको लामाले बताए । चैत १ गतेबाट सुरु हुने गोल्डकपमा आयोजक वीरगञ्ज युथ एकेडेमीसँग हेटौंडा फुटबल एकेडेमीले चैत २ गते प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा २ वटा इण्डियाको टिम सहित जम्मा ८ वटा टिमले उपाधीको लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाासहित शिल्ड मेडल प्राप्त गर्ने आयोजकले बताएको छ ।

क्याम्प सञ्चालन गर्दा करिब १ लाख रुपैयाा खर्च लाग्ने लामाले बताए । ‘खेल्ने चाहना भएकाको लागि थप सहज वातावरण सिर्जना होस् भनेर क्याम्प सञ्चालन गर्ने गरिएको हो’, लामाले भने, ‘विभिन्न सहयोगी दाताहरुसंग कुरा हुँदैछ, सहयोग जुट्ने आश गरेको छु ।’ क्याम्प सञ्चालन गरिरहेको बेला सम्बन्धित निकायबाट नै आवश्यक सहयोग नहुँदा केही समस्या भएको उनी गुनासो गर्छन् ।

सुदिपकुमार माझीले २० थान जर्सी सहयोग गरेको समेत उनले बताए । पदमपोखरी फुटबल एकेडेमीका अध्यक्ष आशिष थापाले ५ हजार रुपैयाँ नगद र १६ सेट मोजा सहयोग गरेका छन् भने हेटौंडा ५ निवासी वीरेन्द्र थापाले २० सेट मोजा सहयोग गरेका छन् ।