२०८० चैत्र १६, शुक्रबार    

कृषि अनुदान र स्वास्थ्य उपकरण खरिद प्रक्रियाको छानविन हुने

२०७९ असार १७, शुक्रबार १३:२८ बजे

वाग्मती प्रदेश लेखा समितिले कृषि अनुदान वितरण तथा स्वास्थ्य उपकरण खरिद प्रक्रियाको छानविन गर्ने भएको छ ।

प्रदेशसभाको वैठकमा अनुदान र स्वास्थ्य उपकरण खरिद प्रक्रियामा त्रुटी भएको विषयले प्रवेश पाएसँगै समितिले छानविन गर्ने निष्कर्ष निकालेको हो । लेखा समितिको हेटौंडामा बसेको वैठकले कृषि अनुदान वितरण र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट गरिएको सिटिस्क्यान खरिद प्रक्रियाको छानविन गर्न उपसमिति गठन गरेको छ । समिति सभापति न्हुच्छेनारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन उपसमिति गठन गरिएको हो ।

उपसमितिमा एमालेका सांसद चन्द्रबहादुर लामा र विवेकशीला साझा पार्टी सांसदका रमेश पौड्याल सदस्य छन् । उपसमिति सदस्य सचिव दीपक अधिकारीलाई तोकिएको छ । समितिको समय सीमा साउन १० गतेसम्म रहेको छ । ‘अनुदान वितरण र उपकरण खरिद प्रक्रियाको विषयसँग सम्बन्धित कागजात हामीले मागेका छौं ।’, उपसमिति सदस्य रमेश पौड्यालले भने ।

उनका अनुसार स्वास्थ्य उपकरण खरिदको विषयमा स्वास्थ्य मन्त्रालय र तत्कालिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र हालको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत् २०७६/०७७ देखि हालसम्म वितरण भएका अनुदान वितरण सम्बन्धि शीर्षक, संख्या, रकम, प्राप्त गर्नेको सम्पूर्ण विवरण सात दिनभित्रमा उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिइएको छ । ‘उपसमितिले आवश्यक छानविन गरी प्रतिवेदन बुझाउने छ ।’, उनले थपे ।

वैठकले स्थानीय तहमा सार्वजनिक लेखा समिति गठन र त्यसको प्रभावकारिताको विषयमा असार २० र २२ काठमाडौं र धुलिखेलमा स्थानीय तहसँग अन्तक्र्रिया समेत गर्ने निर्णय वैठकले गरेको छ ।