२०८० चैत्र १६, शुक्रबार    

बैंकविरुद्ध उद्योग वाणिज्य संघको विरोध प्रदर्शन

२०७९ फाल्गुन २१, आईतबार १८:१७ बजे

चर्को व्याजले सम्पूर्ण उद्योगी, व्यवसायीहरु आर्थिक एवम् मानसिक रुपमा प्रताडित हुनुपरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा हेटौंडामा बैंक तथा वित्तीय संस्थाको विरोधमा प्रदर्शन भएको छ ।

आइतबार राजनीतिक दल, विभिन्न संघ संस्था, संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुको सामुहिक उपस्थितिमा विरोध प्रदर्शन भएको हो । मकवानपुर उद्योग वाणिज्य संघले ७ दिन विरोध प्रदर्शन कार्यक्रमको तय गरेको छ ।

विरोध प्रदर्शनको पहिलो दिन आइतबार पल्पसा सदनमा भेला भएर कालो व्यानर र विरोध कार्यक्रमको पत्रसहित बैंक तथा वित्तीय संस्थाहरुमा ज्ञापनपत्र वुझाएका छन् । दोस्रो दिन फागुन २४ गते दिउँसो १ बजे बुद्धचोकमा बागमती प्रदेशस्तरीय २८ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरुको सहभागितामा व्यानर सहितको शान्तिपूर्ण धर्ना गर्ने जनाएको छ ।

तेस्रो दिन फागुन २५ गते बैंकहरुमा विहान ११ बजेदेखि १२ बजेसम्म १ घण्टा धर्ना कार्यक्रम गर्ने बताइएको छ । चौथो दिन फागुन २६ गते बैंकहरुमा विहान ११ बजेदेखि १ बजेसम्म २ घण्टा धर्ना बस्ने, पाँचौ दिन फागुन २८ गते बैंकहरुमा डिपोजिट कार्य बन्द गराउने, छैठौँ दिन फागुन ३० गते शान्तिपूर्ण रुपमा बैंक बन्द गराउने र अन्तिम दिन फागुन २९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।