२०८१ बैशाख १२, बुधबार    

‘बिजनेसविहीन’ अवस्थामा वाग्मती प्रदेशसभा बस्दै

२०७९ माघ २२, आईतबार १३:४९ बजे

‘बिजनेसविहीन’ अवस्थामा रहेको वाग्मती प्रदेशसभाको बैठक आइतबार बस्दै छ । माघ ३ मा नयाँ मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक दिउँसो २ बजे बस्दै छ ।

मंसिर ४ मा सकिएको आमनिर्वाचन, त्यसपछिको सत्ता संघर्ष र मन्त्रिपरिषद् गठनमा भएको ढिलाइका कारण प्रदेशसभालाई आवश्यक बिजनेस सरकारले उपलब्ध गराउन सकेको छैन । सदनमा नयाँ विधेयक दर्ता नभएका कारण शून्य, विशेष समयको व्यवस्था, मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस र प्रदेश प्रमुखबाट सदनमा सम्बोधन गर्नका लागि मात्र प्रदेशसभाको बैठक बस्दै छ ।

सरकारले पछिल्लो दुई वर्षयता सदनमा नयाँ विधेयक दर्ता नगराउँदा प्रदेशसभाको बैठक ऐन कानुन निर्माणमा नभई सत्ता परिवर्तन, बजेट पास र आरोप–प्रत्यारोपमा नै सीमित भइरहेको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सदनलाई बिजनेसविहीन अवस्थामा नराखिने दाबी गरेका छन् । ‘प्रदेशका नागरिकहरूका लागि आवश्यक पर्ने ऐन कानुनलाई प्राथमिकताका साथ निर्माण गर्नेछौं । सदनलाई बिजनेसविहीन अवस्थामा पुर्‍याउने छैनौं ।’ उनले अघिल्लो कार्यकालमा बनाइएका केही ऐन संशोधन गर्नुपर्ने अवस्थामा पुगेको र आवश्यकताअनुसार संशोधन गर्दै क्रमशः नयाँ विधेयक निर्माण गरेर अगाडि बढ्ने बताए ।