२०८१ बैशाख २०, बिहीबार    

सीडीओ र एसपीकै अगाडि चिकित्सकद्वारा आन्दोलनको घोषणा

२०८० भाद्र २८, बिहीबार १२:५१ बजे

हेटौंडाका निजी तथा सरकारी अस्पतालमा कार्यरत डाक्टरहरुले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखकै अगाडि सुरक्षाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । बुधबार हेटौंडा–१, भिन्तुनापथमा रहेको सञ्चो अस्पतालमा डाक्टरमाथि कुटपिट भएसँगै उनीहरुले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र स्वास्थ्यकर्मीको पूर्ण सुरक्षाको माग गर्दै आन्दोलनका घोषणा गरेका हुन् ।

बिहीबार बिहान हेटौंडा अस्पतालमा प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईं र मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको उपस्थितिमा चिकित्सक, निजी अस्पताल सञ्चालक, औषधी व्यवसायी तथा स्वास्थ्यकर्मीले २४ घण्टाभित्र घटनामा संलग्नलाई हदैसम्मको कारबाही नभए सम्पूर्ण स्वास्थ्यसेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले अस्पतालमा कार्यरत डाक्टरहरुले शान्ति सुरक्षा र घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सामूहिक राजीनामा दिइसकेको बताए । 'डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन् । काम गर्ने वातावरण छैन । डाक्टरमाथि अस्पतालभित्रै कुटपिट हुँदा समेत प्रहरी प्रशासनले केही गर्न सकेन । जसका कारण हामी बाध्य भएर आपत्कालीनबाहेकका स्वास्थ्य सेवा दिन नसक्ने अवस्थामा छौं । शुक्रबारबाट ठप्प नै हुनसक्छ,' उनले भने ।

अस्पतालमा बिरामी हेरिरहेकै अवस्थामा हेटौंडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डा. प्रशान्त बिडारी र सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापामाथि केही युवाहरुले हातपात गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी सेढाईंले घटनामा संलग्नलाई कारबाही गर्ने र त्यसका लागि प्रशासन तयार रहेको दाबी गरे । मकवानपुरका प्रहरी उपरीक्षक रिजालले उजुरी नपरेसम्म कारबाही प्रक्रिया कमजोर हुने बताए । ‘उजुरी नपरी पक्राउ गर्दा हदैसम्मको कारबाही गर्न सकिँदैन,’ उनले भने ।

डाक्टरमाथि कुटपिट भएपश्चात जिल्ला प्रहरी कार्यालयमा बुधबार दुवैपक्षबीच छलफल भएको थियो । प्रहरीले उजुरी नपरेको भन्दै कारबाही प्रक्रिया थाँती राखेको छ ।