२०८१ बैशाख १७, सोमबार    

गैंडा मारेको आरोपमा पिप्ले, लेवट, मनहरी र राक्सिराङका चारजना पक्राउ

२०८० मंसिर १४, बिहीबार १७:४६ बजे

चितवन राष्ट्रिय निकुञ्जभित्र गैंडालाई खाल्डोमा पारेर मार्ने, खाग बिक्री गर्न खोज्ने तथा योजना बनाउने ८ जनालाई बिहीबार सार्वजनिक गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.सिन्धुप्रसाद ढुंगानाको उपस्थितिमा अभियुक्तहरूलाई सार्वजनिक गरिएको हो। 

महानिर्देशक ढुंगानाकाअनुसार निकुञ्जभित्र खाल्डो खनेर त्यसलाई प्राकृतिक बनाई गैंडालाई पासोमा पारिएको अनुसन्धानले देखाएको छ।

‘खाल्डो खनेर माथिबाट गैंडालाई मन पर्ने घाँसहरूले छोपी, प्राकृतिकजस्तो देखाएर पासोमा पारिएको अनुसन्धानले देखाएको छ,’ ढुंगानाले भने, ‘गैंडा हिँड्दै आउँदा खाल्डोमा परेको हुनसक्छ।’ 

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले घटना भएको थाहा पाएलगत्तै अनुसन्धान सुरू गरेको र अहिलेसम्म ८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। नियन्त्रणमा लिइएकाहरू गैंडा मार्न उक्साउने, योजना बनाउने, सिकारी, बिक्री वितरण तथा सहयोग गर्नेहरू छन्। 

गत मंसिर ९ गते ६ जना चितवनको राप्ती–६ बाट पक्राउ परेका थिए। मकवानपुरको हेटौंडा–३ लेबर्ट बस्ने रमेश खाती, राप्ती–११ थाकलटार बस्ने ४२ वर्षीय पाशाङ भन्ने आइते सिंह मोक्तान, मकवानपुरको राकसिराङ–९ घर भई हेटौंडा–४ बस्ने ४४ वर्षीय शमशेर थिङ, मकवानपुरको मनहरी–६ नयाँ बस्ती बस्ने ५६ वर्षीय सीताराम थिङ, रोल्पाको सुनछहारी–६ फगाम घर भई हेटौंडा–५ बस्ने अर्जुन रोका र गोरखाको बारपाक घर भई भरतपुर महानगरपालिका–११ लामाटोल बस्ने ७७ वर्षीय घले भन्ने धनबहादुर गुरूङ राप्ती–६ बाट पक्राउ परेका थिए।

त्यसको दुई दिनपछि चितवनको कोराक घर भई राप्ती–११ थाकलटार बस्ने ४० वर्षीय उनबहादुर स्याङतान र मकवानपुरको मनहरी–७ ज्यामिरे घर भई माडीको बाँदरझुला बस्ने ५६ वर्षीय स्याङ्बो भन्ने ईन्द्रबहादुर तामाङ राप्ती–५ बाट पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमध्ये रमेश खाती, सीताराम थिङ गैंडा मार्न योजना बनाउने व्यक्ति रहेको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले बताए।

आइते सिंह मोक्तान, उनबहादुर स्याङतान र ईन्द्रबहादुर तामाङ उनीहरूको उक्साहटमा गैंडा मार्न बन्दुक लगायतको हतियार बोकेर निकुञ्ज पसेको देखिएको पुनले बताए।

शमशेर थिङ, अर्जुन रोका र धनबहादुर गुरूङले खाग बिक्री वितरणको काम गरिरहेका थिए। उनीहरूलाई खाग बिक्रीका लागि तयारी गर्दैगर्दा पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमध्ये खातीलाई केही वर्षअघि पनि शंकास्पद भनेर निकुञ्जले पक्राउ गरेको थियो। तर त्यतिखेर उनीविरूद्ध प्रमाण पुग्न सकेको थिएन। अहिले पक्राउ परेका सबैलाई चितवन जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको पुनले जानकारी दिए। 

नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा निकुञ्जले गैंडा तस्करमा संलग्नहरूलाई नियन्त्रणमा लिएको हो। उनकाअनुसार गिरोह करिब २० दिनको तयारीपछि गैंडाको खाग तस्कर गर्न सफल भएको अनुसन्धानबाट देखिएको छ। 

महानिर्देशक ढुंगानाले घटनापछि वन तथा वातावरण मन्त्रालयले मंसिर १ गते गठन गरेको छानबिन समितिले प्रतिवेदन पेश गरिसकेको बताए। त्यो प्रतिवेदनमा निकुञ्जको कमजोरी, सेनाको कमजोरी, सुरक्षा व्यवस्था चुस्त कसरी गर्ने भन्ने विषयमा सुझाव दिएको उनले बताए। निकुञ्जभित्रको गस्ती प्रणालीलाई थप चुस्त बनाएर संरक्षणलाई थप प्रभावकारी बनाउनुपर्ने उनले बताए।