२०८१ बैशाख २५, मंगलबार    

उपाधिका लागि भिड्दै आर्मी र विजय युथ

२०७९ जेठ ३०, सोमबार १०:२१ बजे

हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को फाइनल सोमबार हुँदैछ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा जारी वर्षको पहिलो नकाउट फुटबलको उपाधिका लागि नेपाल आर्मी क्लब र स्थानीय विजय युथ क्लबवीच प्रतिस्पर्धा हुँदैछ । आर्मी साविकको विजेता हो भने विजय युथ उपविजेता । आर्मी उपाधि रक्षा गर्ने उद्देश्यसहित मैदानमा उत्रिरहँदा विजय युथ गतवर्षको बदला लिने दाउमा हुनेछ । दुवै टोलीका प्रशिक्षक र खेलाडीले उपाधि जित्ने दावी प्रि–म्याच कन्फ्रेन्समा गरेका छन् ।

फाइनलको यात्रा तय गर्दासम्म आर्मीले विभागीय टोली सशस्त्र प्रहरीको (एपीएफ) क्लब र विदेशी टोली एभिनियर एफसीलाई पराजित गरेको थियो । दुवै टोलीलाई आर्मीले पेनाल्टिमा पराजित गरेको हो । आर्मीले सुरुवाती अग्रता लिएपनि अन्तिम समयमा गोल खाँदा दुवै खेल टाइब्रेकरमा पुगेको थियो । आर्मीले हालसम्म विपक्षीको पोष्टमा दुई गोल गर्दा आफूले पनि दुई गोल नै खाएको छ । आर्मीका गोलरक्षक विकेश कुथु रहेका छन् ।

विजय युथ उपाधि नजिक पुग्ने क्रममा नवजनजागृति युवा क्लब र नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । विजय युथले दुवै खेल निर्धारित समयभित्रै आफ्नो नाममा लेखाएका हो । हालसम्म विजय युथले चार गोल विपक्षीको पोष्टमा गर्दा आफूले कुनै गोलको सामना गर्नु परेको छैन । विजय युथको गोलपोष्ट अशोक बरालले सम्हालिरहेका छन् ।

यस प्रतियोगितामा विजय युथको तुलनामा आर्मीले बलियो टोलीको सामना गरेर अन्तिम दुईमा पुगेको छ । हालसम्मको प्रदर्शन हेर्दा आर्मीको डिफेन्स लाइन असाध्यै बलियो देखिएको छ । विजय युथको मिडफिल्ड र फरवार्ड बलियो देखिन्छ । फाइनल खेल आर्मीको डिफेन्डरको विरुद्ध विजय युथको फरवार्डको रुपमा चित्रण गर्दा पनि फरक पर्दैन । आर्मीका डिफेन्डरको विषयमा उनका प्रशिक्षक नवीन न्यौपानेले पनि तारिफ गरेका छन् । ‘हाम्रा नौ जना खेलाडी राष्ट्रिय टोलीमा रहेका छन् । जसका कारणले हामीले नयाँ खेलाडी प्रयोग गरिरहेका छौं । उनीहरुले राम्रो पनि गरिरहेका छन् ।’, उनले भने,‘उपाधि जित्नेमा हामी ढुक्क छौं ।’ हालको राष्ट्रिय टोलीमा आर्मीको चारजना डिफेन्डर सहभागी छन् ।

आर्मीका कप्तान भरत खवासले आफ्नो टिमको सवै खेलाडी फाइनलका लागि तयार रहेको बताए । ‘हाम्रा सवै खेलाडी फिट छन् । विजय युथ हेटौंडाको टोली भएपनि हामी प्रतिस्पर्धा गर्न तयार छौं ।’, उनले विजय युथलाई स्थानीय टोली भएको फाइदा पुगेपनि आफूहरु उपाधि रक्षा गरेरै छाड्ने दावी गरे ।

विजय युथका प्रशिक्षक विजयलाल श्रेष्ठले फाइनल खेलका लागि आफ्नो टोलीले छुट्टै रणनीति तयार गरेको बताए । उनले डिफेन्स लाइनलाई बलियो बनाउन एउटा खेलाडी परिवर्तन गरिने समेत स्पष्ट पारे । विजय युथको मुख्य डिफेन्डर विदेशी खेलाडी पेपे दोहोरो पहेँलो कार्डका कारण फाइनल खेल्नबाट बञ्चित भएका छन् । उनको स्थानमा अर्को विदेशी खेलाडी प्रयोग गर्न लागिएको हो ।

विजय युथका कप्तान अशोक बरालले आर्मी बलियो टोली भएपनि च्याम्पियन बन्ने गरी आफूहरुले तयारी गरेको बताए । ‘आर्मीको तुलनामा हाम्रा खेलाडी अनफिट देखिएको छ । तर, पनि हामी खेल जित्छौं । हामी शतप्रतिशत इफोर्ट लगाएर खेल्नेछौं ।’, उनले भने ।

अनुभवी र पूर्वराष्ट्रिय खेलाडी टोलीमा रहेको फाइदा फाइनलमा आर्मीलाई हुनसक्ने देखिन्छ । तर, विजय युथमा युवा प्रतिभावान खेलाडीको बाहुल्यता रहेको छ । यस प्रतियोगितामा हालसम्म थ्रीस्टार, मकवानपुर–११ र आर्मीले जितेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले दशलाख रुपैयाँमा चित्त बुझाउनुपर्ने हुन्छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई आयोजक मकवानपुर जिल्ला फुटबल संघले ६ लाख रुपैयाँको बुलेट बाइक प्रदान गर्नेछ ।

प्रतियोगिताको विधागतरुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । जेठ १९ गतेबाट सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।
फोटो छ ।