२०८१ बैशाख १२, बुधबार    

दलको नेता बन्न दौडधुप

२०७९ पौष ७, बिहीबार १३:५१ बजे

वाग्मती प्रदेशमा संसदीय दलको नेता बन्न आन्तरिक दौडधुप सुरु भएको छ । प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना रहेको ठूला दल नेपाली कांग्रेस र माओवादी केन्द्रभित्र संसदीय दलको नेता बन्न सांसदहरू लबिइङ गरिरहेका छन् । संसदीय दलको नेता बनेसँगै मुख्यमन्त्री बन्न बाटो खुल्ने भएपछि उनीहरू आफूअनुकूल वातावरण तयार गर्न अगाडि बढेका हुन् । 

प्रदेशको सबैभन्दा ठूलो दल कांग्रेस पटक/पटक संसदीय दलको नेताको विषय सर्वसम्मतिमा टुंग्याउन प्रयत्न गरे पनि असफल भएपछि निर्वाचनबाटै छिनोफानो गर्ने निचोडमा पुगेको छ । कांग्रेस वाग्मती प्रदेशको कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

प्रदेशमा कांग्रेसका प्रवक्ता तिलक रुवालीका अनुसार संसदीय दलका नेताको निर्वाचनका लागि समिति गठन गरिएको छ । प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सानु श्रेष्ठ रहेको समिति गठन गरिएको हो । ‘केन्द्रसँग समन्वय गरेर समितिले सबै प्रक्रिया पूरा गर्नेछ,’ उनले भने । हालको सत्ता गठबन्धन कायम रहेमा वाग्मतीमा गठबन्धनको सरकार निर्माण गर्न सहज हुनेछ ।

प्रदेशमा प्रमुख प्रतिपक्षीको भूमिकामा देखिन सक्ने सम्भावना रहेको एमालेबाट केन्द्रीय सदस्य जगनाथ थपलिया दलको नेता बन्ने सम्भावना छ । एमालेसँग बहुमत नभएको र सरकारमा सहभागी हुने सम्भावना पनि नरहेकाले दलको नेताको लागि खासै रस्साकसी देखिँदैन ।

कांग्रेस ३७ सिट जित्दै प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको छ । २५ प्रत्यक्ष र १२ समानुपातिक प्रणालीबाट गरी ३७ प्रदेशसभा सदस्य रहेको कांग्रेसको यस प्रदेशमा संस्थापन पक्ष हाबी छ । संस्थापन पक्षबाटै संसदीय दलको नेता बन्न दुई जना नेता कसरत गरिरहेका छन् । कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा र कांग्रेस प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ संसदीय दलको नेता बन्ने दौडमा छन् ।

लामा मुख्यमन्त्री बन्नकै लागि केन्द्रबाट प्रदेशमा झरेको दाबी गरिरहेका छन् । प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता भइसकेका बानियाँ सोही कार्यकालमा मुख्यमन्त्रीको दाबेदार थिए ।

सहमति कार्यान्वयन नहुँदा उनी पछाडि परेका थिए । हालका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग प्रदेशको नेतृत्व आधाआधा कार्यकाल गर्ने लिखित सहमति भए पनि बानियाँ मुख्यमन्त्री बन्नबाट पछाडि परे । उनी अन्तिम समयमा मुख्यमन्त्री बन्नबाट रोकिएको कारण यस पटक आफ्नो दाबेदारी स्वाभाविक भएको बताउँछन् । दुवै जना कांग्रेस संस्थापन पक्षका हुन् । संस्थापन इतरबाट अझैसम्म संसदीय दलको नेतामा दाबी भएको छैन ।

माओवादी केन्द्रमा संसदीय दलको नेतामा ४ जनाले आन्तरिक रूपमा प्रतिस्पर्धा सुरु गरिसकेका छन् । २१ जना प्रदेशसभा सदस्यसहित संसद्को तेस्रो दल बनेको माओवादीमा दलको नेता बन्न हालका नेता शालिकराम जम्मकट्टेल, सिन्धुपाल्चोकबाट निर्वाचित माओवादी केन्द्र प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, सिन्धुलीबाट निर्वाचित गंगानारायण श्रेष्ठ र प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल मैदानमा छन् ।

नेपाल समाजवादी पार्टीका सहअध्यक्ष रहेका श्रेष्ठ डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्नुअघि माओवादी केन्द्रको नेता थिए । चुनावमा नयाँ शक्ति र माओवादीबीच भएको सहमतिअनुसार उनी माओवादीको चुनाव चिह्नबाट उम्मेदवार बनेका थिए । यस कारण पनि उनी चर्चामा छन् । माओवादीले यसै साता पार्टीको बैठक बसेर दलको नेताको टुंगो लगाउने नेताहरूले बताएका छन् ।

एमाले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) मा दलको नेताका लागि प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल आकांक्षी छन् । प्रत्यक्षमा ५ र समानुपातिकमा २ सिट पाएको समाजवादी ७ सिटसहित प्रदेशसभाको पाँचौं दल हो । खनाल प्रदेशमा दुई पटक मन्त्री भइसकेका छन् ।

प्रदेशको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा संसदीय दलको नेताका लागि हालसम्म कुनै चर्चा चलेको छैन । राप्रपा सत्तामा जाने विषयमा निर्क्योल पनि छैन । पार्टीको केन्द्रीय निर्णय र नीतिपश्चात् ठोस निर्णयमा पुग्ने सांसदहरूले बताएका छन् । राप्रपाले लामो समयदेखि प्रदेश संरचना खारेजीको माग राख्दै आएको छ । प्रदेशमा नेमकिपाबाट एक जना प्रत्यक्ष र दुई जना समानुपातिक गरी तीन जना र हाम्रो नेपाली पार्टीको प्रत्यक्ष प्रणाली र समानुपातिक प्रणालीबाट १/१ जना गरी दुई जना प्रदेशसभा सदस्य चयन भएका छन् ।