२०८१ बैशाख १६, आईतबार    

मकवानपुर गोल्डकप : उपाधिका लागि एपीएफ र एनआरटी भिड्ने

२०८० माघ २५, बिहीबार १९:१६ बजे

सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०८० को उपाधिका लागि सशस्त्र प्रहरी (एपीएफ) र न्यूरोड टीम (एनआरटी) भिड्ने भएका छन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा एपीएफले वाग्मती युथ क्लब सर्लाहीमाथि ४–० गोलअन्तरको फराकिलो जित निकाल्दै उपाधि नजिक पुगेको हो । छैठौं संस्करणको फाइनलमा पुग्ने क्रममा विजयी टोलीका लागि अनिश महर्जन, प्रदीप लामा, विदेशी खेलाडीद्वय सर्ज संग र फोडे फोफनाले गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच पहिलो गोलकर्ता अनिश महर्जन घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । आफ्नो घरेलु सहरमा महर्जनले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए । उनले हेडमार्फत गोल गरेका हुन् ।

खेलको ६० औं मिनेटमा प्रदीप लामाले दोस्रो गोल गरे । उनको हेड गोलसँगै खेलमा एपीएफले पूर्ण दबाब बनाएको थियो । विदेशी खेलाडी सर्ज संगले तेस्रो गोल गरेका थिए । उनले ८१ औं मिनेटमा गोल गरेका हुन् । फोडे फोफनाले उपलब्ध गराएको वान भर्सेस वान बलमा उनको गोल सम्भव भएको हो । फोफनाले दोस्रो हाफको अन्तिम मिनेटमा चौथो गोल गरेका थिए । उनको प्रहारमा वाग्मतीका गोलरक्षक रोनक चौलागाईंले रोक्ने कुनै मौका पाएनन् । उनी सब्स्टिच्युट गोलरक्षक थिए ।

खेलको २२ औं मिनेटमा वाग्मतीका सिर्जन गौतमले प्रहार गरेको बल विपक्षीको पोष्टभन्दा केहीमाथिबाट बाहिरिएको थियो । खेलको ३३ औं मिनेटमा वाग्मतीका अभी लामा खाली पोष्टमा गोल गर्न चुके । उनले सशस्त्रका गोलरक्षक अञ्जल श्रेष्ठ लडिरहेको अवस्थामा गोल गर्न सकेनन् ।

दोस्रो हाफमा वाग्मती लगाताररुपमा प्राप्त गरेको तीनवटा मौकामा चुकेको थियो । वाग्मतीले खेलको ४८, ४९ र ५२ औं मिनेटमा सुनौलो मौका प्राप्त गरेपनि गोल गर्न भने सकेन् । पराजित टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले प्राप्त मौका सदुपयोग गर्न नसक्दा पराजित भएको स्वीकारे । ‘ठूला टोलीविरुद्ध हामीले धेरै अवसर प्राप्त गर्दैनौं । जति मौका पाउँछौं । त्यसलाई सदुपयोग गर्न सक्नुपर्छ ।’, उनले भने ।

एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो योजना अनुसार नै खेलाडीले प्रदर्शन गरेको बताए । ‘पहिलो हाफमै गोल गर्ने हाम्रो योजना थियो ।’, उनले टोलीमा रहेको सिनियर खेलाडीको प्रदर्शनमा आफूभने खुशी नरहेको बताए ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–६, गौरीटारमा जारी प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद १५ र १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।