२०८१ बैशाख २१, शुक्रबार    

मकवानपुर गोल्डकपले नयाँ विजेता पाउँदै

२०८० माघ २७, शनिबार ०८:५६ बजे

सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताले शनिबार नयाँ विजेता पाउँदै छ । प्रतियोगिताको छैटौं संस्करणको उपाधिलाई विभागीय टोली नेपाल एपीएफ क्लबले एनआरटीविरुद्ध खेल्नेछ । 

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगिता विजेताले १५ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी जित्नेछ । उपविजेताको भागमा १० लाख रुपैयाँ पर्नेछ । यसअघि आर्मीले दुई, थ्रीस्टार, मनाङ मर्स्याङ्दी क्लब र आयोजक मकवानपुर जिल्ला फुटबल संघले १–१ पटक उपाधि जितेको छ ।

एपीएफले फाइनलको यात्रा तय गर्नेक्रममा वाग्मती युथ क्लब सर्लाहीलाई सेमिफाइनलमा ४–० ले पराजित गरेको थियो । एपीएफले अन्तिम आठमा थ्रीस्टारलाई ४–० र प्रिक्वाटरफाइनलमा मछिन्द्रलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हरायो ।

एनआरटीले अन्तिम चारमा राजारानी क्लब धनकुटालाई दुर्लभ टाइब्रेकरमा १७–१६ ले हारएको थियो । अन्तिम आठमा एनआरटीले चर्च व्वाइजलाई पेनाल्टी शुटआउटमा ४–३ र पहिलो खेलमा हिमालयन शेर्पामाथि ३–० को नतिजा निकालेको थियो ।

निर्धारित ९० मिनेटपछि प्रतियोगितामा सिधै टाइब्रेकरमार्फत खेलको छिनोफानो भइरहेको छ । निर्धारित समयसम्म भएको गोलको अवस्था हेर्ने हो भन्ने एनआरटीभन्दा एपीएफ बलियो देखिन्छ । एनआरटीले फाइनलसम्म पुग्दा विपक्षीको पोस्टमा ५ गोल गर्दा दुई गोल सामना गरेको छ । एपीएफले विपक्षी पोस्टमा हालसम्म १० गोल गर्दा २ गोल बेहोरेको छ ।

यो अवस्था हेर्दा एनआरटीका विदेशी गोलरक्षक प्रिसो टाइब्रेकरमा अब्बल देखिएका छन् । जसका कारण एपीएफले निर्धारित समयमै जित्न कोसिस गर्ने देखिन्छ । एपीएफका फरवार्डलाइनका अनिश महर्जन र फोडे फोफानाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । एनआरटीका सरोज तामाङ, रोहन खड्गी र सुमित श्रेष्ठको प्रभाव मैदानभित्र रहँदै आएको छ ।

शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्नेमा आफूहरू विश्वस्त रहेको बताएका छन् । छोटो समयको तयारी बाबजुत खेलाडीले राम्रो प्रदर्शन गरेको एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले बताए । उनले निर्धारित समयमै गोल गर्न आफूहरूले फिनिसिङमा सुधार गरेको बताए ।

एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले प्रतिद्वन्द्वीलाई आफूहरूले कमजोर टिमको रूपमा नलिएको बताए । फाइनलमा आफूहरू उच्च मनोबल बोकेर मैदान उत्रने बताए ।

एनआरटीले दुई साताअघि इलाम गोल्डकप जितेको थियो भने एपीएफले यस सिजन पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।