२०८३ असार १, सोमबार    

गोर्खा ब्वाइजलाई शतप्रतिशत अंक, आरआर एफसीविरुद्ध उजुरी

२०८१ भाद्र २४, सोमबार १९:३९ बजे

जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा गोर्खा ब्वाइज, एफसी इन्टरनेट र रियलस्टार क्लव विजयी भएको छ ।

गोर्खा ब्वाइजले हेटौंडा फुटबल एकेडेमीलाई ६–० ले हराएको हो । गोर्खाका लागि मनोज घलानले ४ तथा रिहान लामा र रोहन देउलाले एक÷एक गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच गोार्खा ब्वाइजका मनोज घलान घोषित भए । योसँगै गोर्खा ब्वाइजले ४ खेलबाट १२ अंक जोडेको छ ।

रियलस्टार क्लव हेटौंडा १२ ले इन्टरनेट सिटीलाई ३–० ले हराएको छ । रियलस्टारका लागि साजन थिङले २ र साजन पाख्रीनले एक गोल गरेका हुन् । दुई गोल गरेका थिङ नै खेलको म्यान अफ द म्याच भए । अर्को खेलमा एफसी इन्टरनेट विजयी भएको छ । इन्टरनेटले हेटौंडा भेट्रान्सलाई १–० ले हराएको हो । इन्टरनेटका लागि सलोन वाइबाले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच विजयी टिम एफसी इन्टरनेटका सुजन खत्री घोषित भए ।

सोमबार आयोजित परेली युवा क्लव बस्तीपुर र आरआर वाइसी मनहरी ३ बीचको खेल एक÷एक गोलको बराबरीमा सक्किएको छ । पहिलो हाफको अतिरिक्त समयमा सन्देश बलले गोल गर्दै आरआर वाइसीलाई अग्रता दिलाएका थिए । ८५ औं मिनेटमा परेलीका नविन गोलेले बराबरी गोल फर्काए । खेलको म्यान अफ द म्याच परेलीका गोले नै घोषित भए ।

आरआर वाइसीले नियम विपरितका खेलाडी खेलाएको भन्दै परेलीले आयोजक सामु उजुरी हालेको छ । यस विषयमा आवश्यक छानवीन भैरहेको आयोजकले जानकारी दिएको छ ।