२०८३ भाद्र १७, बुधबार    

हेटौंडाको बुद्धचोकमा खोप लगाउनेको घुईंचो

२०७८ फाल्गुन ३, मंगलबार १४:१८ बजे

हेटौंडा/ हेटौंडाको बुद्धचोकमा कोरोनाविरद्धको खोप लगाउनेको घुईंचो नै लागेको छ ।

स्थानीय प्रशासनले वाग्मती प्रदेशको राजधानी हेटौंडाको वुद्धचोकमै कोरोनाविरुद्धको खोपकेन्द्र स्थापना गरेसँगै खोप लगाउनको घुईंचो नै लागेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति, हेटौंडा उपमहानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त पहलमा बुधबारबाट विशेष खोप सप्ताह सुरु गरिएको थियो । यस अभियान सातदिनसम्म सञ्चालन हुने भनिएपनि सेवाग्राहीको भीड बढेसँगै अझै केही समय लम्ब्याउन स्थानीय प्रशासनलाई दबाब परेको छ ।

273641619_1345292002610454_861187739126031335_n

बुद्धचोकमै कोरोना विरुद्धको खोप नलगाएकाहरुलाई लक्षित गरेर खोप सप्ताह सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । उनका अनुसार प्रतिदिन करिब एकहजार जनाले सेवा लिइरहेका छन् । यस अभियानमा पुरानो नारायणी यातायात कम्पनी प्रालि, ग्रामिण जागरण तथा विकास संगठन नेपाल र एसोसिएसन अफ प्राइभेट हेल्थ नेपाल मकवानपुरले सहयोग गरिरहेका छन् । हाल खोप लगाउनका लागि जिल्लाका विभिन्न स्थानबाट त्यहाँ विहानैबाट मानिसको भीड नै लाग्ने गरेको छ ।

हालसम्म जिल्लामा करिब ९० प्रतिशतले कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाइसकेको अनुमान स्थानीय प्रशासनको छ । सरकारले चैतभित्र शतप्रतिशत जनसंख्याले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको घोषणा गर्ने तयारी गरेसँगै हाल जिल्लाभर खोप अभियान सञ्चालन भइरहेको छ ।