२०८१ बैशाख १६, आईतबार    

मकवानपुर अदालतको सुविधायुक्त भवन उपभोगमा ढिलाइ

२०८० मंसिर १३, बुधबार १८:५५ बजे

जिल्ला अदालत मकवानपुरको सुविधायुक्त भवन बनेको झण्डै तीन महिना बिते पनि अझै प्रयोगमा आउन सकेको छैन ।

उच्च अदालत पाटन हेटौंडा इजलासको परिसरमा रहेको एक नाले भवनबाट जिल्ला अदालत मकवानपुरले आफ्ना सेवा दिँदै आएको छ ।

हेटौंडा उपमहानगरपालिका-२ मा रहेको जिल्ला अदालतको भवन पुरानो भएकाले भत्काएर २०७७ माघदेखि नयाँ भवन बनाउन सुरु गरिएको थियो । उक्त पुरानो भवन भत्काएपछि जिल्ला अदालत मकवानपुर उच्च अदालत पाटन हेटौंडा इजलास परिसरमा सरेको थियो । जिल्ला अदालतका कर्मचारी र न्यायाधीश कोचाकोच गरी सेवा दिइरहेका छन् । सेवाग्राहीले पनि समस्या भोगिरहेका छन् ।

अदालतका एक कर्मचारीले भने, ‘अर्थ मन्त्रालयले रकम उपलब्ध नगराएकाले कम्पनीलाई भुक्तानी दिन सकेका छैनौं, अर्थ मन्त्रालयलगायत माथिल्लो निकायमा रकम भुक्तानीका लागि अदालतले ताकेता लगाइराखेको छ तर सुनुवाइ भएको छैन ।’ जिल्ला अदालत मकवानपुर चार जना न्यायाधीशसहित ५६ जना कर्मचारी कार्यरत छन् ।

करिब १७ करोड लागतमा गत भदौमा निर्माण सकिएको हो । तर निर्माण कम्पनीले अदालतलाई हस्तान्तरण गरेको छैन ।

निर्माण कम्पनीले भुक्तानी नपाएकाले भवन हस्तान्तरण नगरेको बताएको छ । कम्पनीका कर्मचारी अमर चौलागाईंले भने, ‘भुक्तानी नै पाएको छैन, कसरी भवन हस्तान्तरण गर्नु ।’ उक्त भवन निर्माणको जिम्मा लिएको कविन्द्र/नवसिर्जन सेलेट निर्माण कम्पनी काठमाडौंले ३ करोड ३६ लाख रुपैयाँ भुक्तानी लिनु पर्ने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको सामुन्ने बनेको उक्त अदालतको भवन सात तले रहेको छ । १ सय ३१ वटा कोठा रहेको भवनमा २ वटा लिफ्ट रहेका छन् । वाग्मती प्रदेशको राजधानी हेटौंडामा सरकारी कार्यालयमा लिफ्ट भएको भवन यो मात्र हो । सर्वसाधारण र अदालतका न्यायाधीश एवं कर्मचारी आवतजावत गर्ने लिफ्ट अलग छ । सात वटा इजलास कक्ष रहेको उक्त भवनमा १ सय ५० जना अट्ने क्षमताको सभाहल पनि रहेको छ । अन्डर ग्राउन्ड पार्किङ रहेको भवनमा १ सय ४ वटा सोलार प्यानलसमेत जडान गरिएको छ ।