२०८३ जेठ १२, मंगलबार    

हाँडीखोला शीर्षस्थानमा उक्लियो

२०८१ भाद्र २३, आईतबार १९:२८ बजे

हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा मनहरी गाउँपालिकाको हाँडीखोला यूथ क्लव समूहको शीषस्थानमा पुगेको छ ।

आइतबार भएको खेलमा प्रतिभा क्लव हेटौंडासँग १–० को जित निकालेसँगै हाँडीखोला समूह घ को शीषस्थानमा पुगेको हो । ३ खेल खेलेको हाँडीखोलाले २ जित र एक बराबरी गर्दै ७ अंक जोडेको छ । हाँडीखोलाका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका उत्सव खड्काले गरेको गोल नै निर्णायक बन्यो । उनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका हुन् । हाँडीखोलाको शिव राईको प्रहार पोष्टमा लागेर फर्किदाँ सुरुवाती अग्रता लिन चुकेको थियो । प्रतिभाले खेलको करिब अन्तिमतिर एउटा गोल गर्ने राम्रो मौका खेर फाल्योे । गोलरक्षक ईश्वर रिजाल बिट भैसकेको अवस्थामा प्रतिभाका खेलाडीको प्रहार बाहिरिएको थियो । खेलको म्यान अफ द म्याच हाँडीखोला यूथका डिफेण्डर गौरव मोक्तान (उत्तम) घोषित भए ।

यही समूह अन्तर्गत सहीद स्मृति क्लव बागमती गाउँपालिकाले हेटौंडाको युनाइटेड नाइनसँग एक÷एकको बराबरी खेल्दै अंक बाँडेको छ । युनाइटेड नाइनले उपहार गोलमार्फत खेलमा अग्रता बनाएको थियो । युनाइटेडको प्रहार बागमतीका खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो । बागमतीले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेको हो ।

आइतबारै भएको खेलमा एफसी पोतालाले सक्षम क्लव नेवारपानीलाई ५–१ ले हराएको छ । पोतालाका लागि अनुप राना मगरले २ तथा आशिष राना, दावा लामा र प्रितम स्याङबोले समान एक÷एक गोल गरेका हुन् । सक्षमबाट हेस्रन मगरले एक गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच पोतालाका अनुप राना घोषित भए ।

प्रगतिशिल युवा क्लव र पशुपति युवा क्लवको खेल भने ३–२ को अवस्थामा रोकिएको छ । प्रगतिले ३ र पशुपतिले २ गोल गरेको अवस्थामा रात परेपछि खेल स्थगित गरिएको हो । स्थगित खेल सोमबार हुने बताइएको छ । यता शनिबार एक÷एकको अवस्थामा स्थगित भएको एफसी मल्टिभिजन र ७

नम्बर फुटबल टिमको खेलमा मल्टिभिजन विजयी भएको छ । बाँकी समय खेलाइएको खेलमा मल्टिभिजनले एक गोल गर्दै २–१ ले विजयी भएको हो । खेलको म्यान अफ द म्याच मल्टिभिजनका जेनिश थपलिया घोषित भए ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको लिगमा २८ वटा क्लवको सहभागिता रहेको छ । २८ क्लवलाई ४ समूहमा विभाजन गरी लिग चरणको खेल सञ्चालन भैरहेको छ ।