२०८० चैत्र १६, शुक्रबार    

राजस्व नबुझाउने १३ व्यवसायिक फर्मको बैंक खाता रोक्का

२०७९ असार ३१, शुक्रबार १४:०२ बजे

आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक फर्मको बैंक खाता रोक्का गरी कारबाही गरेको छ। लिखित तथा मौखिकरुपमा पटक-पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको कार्यालय प्रमुख मोहलाल जिसीले जानकारी दिए।

यसरी बैंक खाता रोक्का गरिएकामध्ये आयकर वक्यौतातर्फ सातवटा व्यवसायिक फर्म र मूल्य अभिवृद्धिकर बक्यौता तर्फका ६ वटा व्यवसायिक फर्म रहेको उनले बताए। कारबाहीमा परेका र राजस्व नबुझाएकासम्मले बैकिङ कारोबार गर्न नपाउने उक्त कार्यालयले जनाएको छ।

यसैगरी, चालु आर्थिक वर्ष २०७८/७९ मा तोकिएको लक्ष्यभन्दा अत्यधिक राजस्व संकलन भएको कार्यालयले जनाएको छ। प्रमुख जिसीका अनुसार कार्यालयको विभिन्न शीर्षकमा पाँच अर्ब ७० करोड आठ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ६ अर्ब चार करोड ७८ लाख रुपैयाँ राजस्व संकलन भएको छ। अर्थात तोकिएको भन्दा १०६ प्रतिशत राजस्व संकलन सो कार्यालयले गरेको छ।

कार्यालयबाट प्राप्त विवरणअनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असार ३० गतेसम्ममा आय करतर्फ एक अर्ब ११ करोड ४२ लाख ७३ हजार, घरबहाल करतर्फ दुई करोड ७६ लाख ७२ हजार, ब्याजकरतर्फ पाँच करोड  छ लाख ४२ हजार रुपैयाँ, मूल्यअभिवृद्धि करतर्फ ९९ करोड ३६ लाख ९७ हजार रुपैयाँ, अन्तशुल्क करतर्फ तीन अर्ब २४ करोड ७१ लाख ८८ हजार र स्वास्थ्य करतर्फ ६१ करोड ४३ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ।

सो अवधिमा कार्यालयको आयकरतर्फ एक अर्ब १२ करोड ९४ लाख ११ हजार रुपैयाँ, घरबहाल करतर्फ तीन करोड ५३ लाख ७८ हजार रुपैयाँ, ब्याज करतर्फ छ करोड ४० लाख रुपैयाँ, मूल्यअभिवृद्धि करतर्फ एक अर्ब ३३ करोड ४२ लाख रुपैयाँ, अन्तशुल्क करतर्फ दुई अर्ब ९८ करोड ८६ लाख ३६ हजार रुपैयाँ र स्वास्थ्य करतर्फ १४ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको बताइएको थियो।