२०८१ बैशाख २०, बिहीबार    

हेटौंडा बजार बन्द गरेर २५ मिटर पीडित आन्दोलनमा

२०८० असार २४, आईतबार १८:२५ बजे

पूर्वपश्चिम राजमार्ग क्षेत्रमा २५ मिटर सडक विस्तार गर्दा आफूहरु सुकुम्बासी हुने दावी गरिरहेका पीडितहरुले आइतबार हेटौंडा बजार नै बन्द गरेर आन्दोलन गरेका छन् ।

विशेष गरी हेटौंडाको राप्तीरोडका व्यवसायी तथा घरधनीहरु व्यवसाय नै बन्द गरेर सडक विस्तारको विरोधमा प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले माइकिङ नै गरेर सहयोगका लागि अपिल समेत गरेका थिए ।

आइतबार उद्योग बाणिज्य संघ मकवानपुरको नेतृत्वमा हेटौंडा बजार क्षेत्रका व्यवसायी र घरधनीहरु सडक विस्तार गर्नुअघि मुआब्जा र क्षतिपूर्तिको माग गर्दै विभिन्न निकायमा ज्ञापन पत्र बुझाऊने कार्यक्रम रहेको थियो । सोही कार्यत्रममा उनीहरु सहभागी भएका हुन् ।

व्यवसायीका प्रतिनिधिका रुपमा उद्योग बाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल तथा पूर्वअध्यक्ष एवम् महासंघ केन्द्रीय सदस्य कृष्ण कटुवाल एवम् पूर्वअध्यक्षहरु अरुणराज सुमार्गी तथा उत्तम ढकालले नेतृत्व गरेका थिए ।

सडक डिभिजन कार्यालयले स्थानीय जनप्रतिनिधि तथा दलको सहयोगमा सडक विस्तारलाई निष्कर्षमा पुर्‍याउने गरी तयारी अगाडि बढाएको छ । सडकले सूचना समेत जारी गरेर घर तथा सटर खाली गर्न भनेको छ ।