२०८१ बैशाख १५, शनिबार    

आयोजकलाई विजय युथ गोल्डकपको उपाधि

२०८० असार १६, शनिबार ११:०४ बजे

दोश्रो विजय युथ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक तथा साविक विजेता एफसी विजय युथ क्लबले हात पारेको छ । शुक्रबार भएको फाईनल खेलमा पदमपोखरी युनाइटेडलाई २–१ ले पराजित गर्दै विजय युथले उपाधि हात पारेको हो ।

पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा पदमपोखरी युनाइटेडका खेलाडी दिपेश आलेमगरले खेलको ४२ औं मिनटमा गोल गर्दै टिमलाई अगाडि बढाए पनि दोस्रो हाफको ३७ र ४४ औं मिनेटमा एफसी विजय युथका खेलाडी हिसुब थपलियाले लगातार दुई गोल गर्दै उपाधि जिताउन सफल भएका थिए ।

फाइनल खेलमा निर्णायक गोलकर्ता बनेका हिसुब थपलिया म्यान अफ द म्याच घोषित भएका थिए । विजेता बनेको एफसी विजय युथले उपाधि सहित नगद २ लाख शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको थियो भने उपविजेता पदमपोखरी युनाइटेडले नगद १ लाख शिल्ड सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।

यस्तै, व्यक्तिगत विधातर्फ फाइनलमा निर्णायक बनेका एफसी विजय युथका हिसुब थपलिया प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिएका छन । उनले त्यसवापत नगद १० हजार र ५ लाख बराबरको जीवन बिमा प्राप्त गरका छन् ।

त्यस्तै, उत्कृष्ट गोलरक्षक विजय युथका सुरज भ्लोन घोषित भए भने उत्कृष्ट डिफेन्डर पदमपोखरीका सुरज बिष्ट चुनिए । उत्कृष्ट मिडफिल्डर विजय युथका रुपेश केसी बन्दा उत्कृष्ट फरवार्ड पनि विजय युथ कै अजयी मार्टिन्स चुनिएका थिए ।

त्यसैगरी उत्कृष्ट प्रशिक्षक बिजय युथका ज्ञानु क्षेत्री घोषित भएका छन । विद्यागततर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजारसहित ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर ५ का अध्यक्ष सुशिल घिमिरे, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी लगाएतले पुरस्कार वितरण गर्दै बधाई दिएका थिए ।

विजय युथ क्लब हेटौडाको आयोजनामा गत असार ५ गतेदेखि सुरु भएको प्रतियोगितामा मकवानपुर जिल्लाका कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।