२०८३ बैशाख ५, शनिबार    

महिला फुटबल सुरु : आयोजक सुरुमै पराजित

२०८२ बैशाख १९, शुक्रबार २०:२३ बजे

हेटौंडामा शुक्रबारबाट सुरु भएको राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगिता–२०८२ मा मकवानपुरलाई टाइबेकरमा हराउँदै छिमेकी जिल्ला चितवनले विजय यात्रा सुरु गरेको छ ।

हेटौंडा–६ स्थित गौरीटारमा भएको खेलको निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । चितवनले ५–४ को जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाएको हो । पहिलो हाफ गोलरहित बराबरी भएकोमा चितवनले दोस्रो हाफको केहीबेरमै अग्रता लिएको थियो । चितवनका लागि अनिता गुरुङले हेडमार्फत गोल गरेकी हुन् । मकवानपुरका डिफेण्डरले चितवनका खेलाडीलाई लडाएपछि पाएको फ्रिकिक बललाई उनले हेड गर्दै पोष्टको दिशा दिएकी हुन् ।

त्यसको केहीबेरमै मकवानपुर १० खेलाडीमा झरेको थियो । मकवानपुरका खुसाना राईले चितवनको गोलरक्षक सुजता तामाङलाई फाउल गरेपछि रेफ्रीले राईलाई रातोकार्ड दिएका थिए । खेलको अन्तिम मिनेटमा मकवानपुरका लागि सजिना स्याङ्तानले गोल गर्दै एक÷एकको बराबरीमा ल्याएकी थिइन् । त्यसपश्चात खेल टाइब्रेकरमा पुगेको थियो ।

खेलको म्यान अफ द म्याच चितवनका अनिता गुरुङ घोषित भइन् । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरिन् । जारी प्रतियोगितामा शनिबार बाराको नवजनजागृति क्लव सिमरा र संकटा क्लवको खेल हुनेछ ।

छैठौं संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिताको आयोजना गरेको फुटबल संघ मकवानपुरले यसवर्ष महिला गोल्डकप गरेको हो । प्रतियोगितामा २ विभागीय टोली, एउटा ए डिभिजन टोली र ५ वटा जिल्ला गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफसहित संकटा क्लव तथा मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ । हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैया“ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब ६१ लाख रुपैया“ खर्च हुने आयोजकको अनुमान छ । महिला गोल्डकपको मुख्य प्रायोजक हेटौंडा उपमहानगरपालिका तथा प्रायोजकमा बागमती प्रदेश खेलकुद विकास परिषद्, भीमफेदी गाउँपालिका, कैलाश गाउ“पालिकालगायत स्थानीय संघ संस्था रहेका छन् ।

हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले गोल्डकपको उद्घाटन गरेकी हुन् ।