२०८१ बैशाख २७, बिहीबार    

मकवानपुर गोल्डकपमा सिमराको विजयी सुरुवात

२०७९ जेठ १९, बिहीबार २०:१६ बजे

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा बिहीबारबाट हेटौंडामा सहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिगता सुरु भएको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सुरु भएको गोल्डकपमा नव जनजागृति युवा क्लव सिमराले विजय यात्रा सुरु गरेको छ । उद्घाटन खेलमा सिमराले सर्लाहीको बागमती युवा क्लवलाई २–० गोल अन्तरले हराएको हो । सिमराको जितमा विवेक चौधरी र कृपाकान्त चौधरीले गोल गरेका थिए । खेलको आठौं मिनेटमा विवेकको गोलबाट सिमराले अग्रता लिएको थियो । ८० औं मिनेटमा कृपाकान्तले अग्रता दोब्बर बनाए ।

सर्लाहीले खेलमा केही राम्रा अवसर पाएको भएपनि गोल निकाल्न नसक्दा निराश हुादै घर फर्किन बाध्य भएको छ । खेलको म्यान अफ द म्याच सिमराका विवेक चौधरी घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे । ३० गतेसम्म सञ्चालन हुने चौथो संस्करणको मकवानपुर गोल्डकपमा १२ क्लवको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्रबार बीफसी भरतपुर र चर्च ब्वाइज क्लवको बीचमा खेल हुनेछ ।

आयोजक मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको अध्यक्षता एवम् प्रतियोगिता संयोजक प्रताप बिष्टको संयोजकत्वमा भएको उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।