२०८१ बैशाख १७, सोमबार    

एपिएफ पहिलो पटक मकवानपुर गोल्डकप च्याम्पियन

२०८० माघ २७, शनिबार १९:०१ बजे

छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा शनिबार भएको फाइनलमा न्यूरोड टिम (एनआरटी) लाई सडनडेथमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो । निर्धारित समय गोलरहित र टाइब्रेकरमा ३–३ गोलको बराबरी भएपछि सडनडेथमार्फत् खेलको निर्णय लिइएको हो ।

सडन डेथको दोस्रो पेनाल्टीमा विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोल गरेसँगै स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताले नयाँ विजेता पाएको हो । एपीएफ र एनआरटी प्रतियोगिताको फाइनलमा पुगेको पहिलो पटक हो ।

एपिएफले उपाधिसहित १५ लाख र एनआरटीले १० लाख रुपैयाा प्राप्त गर्यो । पेनाल्टी सुटआउटमा एपीएफका एनिसेट, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए भने दिपेश धिमाल र बुद्धिमान राई गोल गर्न चुके । एनआरटीका लागि पेनाल्टीमा जय गुरुङ, प्रिसो, विवेक गुरुङले गोल गर्दा सन्तोष तामाङ र अभिषेक गुरुङले गोल गर्न सकेनन् ।

सडनडेथमा एपीएफका मणि लामा र फोफनाले गोल गरेका थिए । एनआरटीका मोहित गुरुङले गोल गर्दा रनदीप पौडेलको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले रोकेका थिए ।