यही जेठ ३ गतेबाट हुने हेटौंडा मेयर कप वडास्तरीय फुटबल प्रतियोगिताको तयारीलाई सबै वडाले तीव्र बनाएका छन् ।
फुटबल खेलको विकासमा सहयोग पु¥याउने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाको लगानीमा नगर खेलकुद विकास समितिले प्रत्येक वर्ष यस प्रतियोगिताको आयोजना गर्दै आएको छ । नगर खेलकुद विकास समितिले आयोजना गर्ने वडास्तरीय अन्य प्रतियोगितामा कम वडाको सहभागिता हुने गरेको भएपनि फुटबलमा भने अधिकांश वडाले सहभागिता जनाउने गरेका छन् । वडामा गठित खेलकुद विकास समितिले मेयर कप फुटबलका लागि प्रशिक्षण र खेलाडी छनौटको काम गरिरहेका छन् । प्रतियोगिताको मिति नजिकिँदै गर्दा वडाहरुले यसको तयारीलाई तीव्र बनाएका हुन् । हेटौंडा १२ खेलकुद विकास समितिका संयोजक दिनेश चौलागाइँले मेयर कप फुटबलका लागि प्रशिक्षणसँगै खेलाडी छनौट भैरहेको जानकारी दिए ।
‘प्रतियोगिता जित्ने उद्देश्यसहित आवश्यक तयारी गरेका छौं’, चौलागाइँले भने । साविक विजेता हेटौंडा ४ नम्बर वडाले यो वर्षपनि उपाधि जित्ने लक्ष्यका साथ तयारी गरिरहेको जानकारी दिइएको छ । वडा अध्यक्षसहित जनप्रतिनिधिहरुले अन्य खेलको तुलनामा फुटबललाई अलि बेसी चासो र सहयोग गर्ने गरेको पाइएको छ । हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आयोजना हुने प्रतियोगिताको तयारी तीव्र पारिएको नगर खेलकुद विकास समिति अध्यक्ष रविन्द्र घिमिरे जानकारी दिए ।
यस वर्षको मेयर कपको विजेताले २ लाख ५० हजार र उपविजेताले २ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र प्रशिक्षकले समान नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष विजेता र उपविजेताको पुरस्कार राशीमा समान ५० हजार रुपैयाँ बृद्धि गरिएको छ । प्रतियोगितामा उपमहानगरपालिका भित्रका वडाहरुले मात्रै सहभागिता जनाउन पाउनेछन् । खेलको माध्यमबाट खेलाडी र वडाको बीचमा सहकार्यको भावना विकास गराउनुका साथै खेल क्षेत्रको विकासका निम्ति प्रतियोगितालाई निरन्तरता दिँदै आएको हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले बताइन् ।
प्रतियोगितासहित भौतिक पूर्वाधार विकासमा समेत योजनाबद्ध काम गरिरहेको उनले जानकारी दिइन् । खेलकुदसहित उपमहानगरको सर्वाङ्गीण विकासमा लागिपरेको उनको भनाई छ । यस प्रतियोगिताका लागि उपमहानगरपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अघिल्लो वर्ष भएको मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा ४ नम्बर वडाले जितेको थियो ।