२०८१ बैशाख १५, शनिबार    

पत्रकारितासम्बन्धी दुईवटा पुस्तक सार्वजनिक

२०७९ श्रावण १६, सोमबार १२:२२ बजे

बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयले प्रकाशित गरेको पत्रकारितासम्बन्धी दुईवटा पुस्तक सार्वजनिक गरिएको छ। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उहिलेको पत्रकारिता र डिजिटल साक्षरतासम्बन्धी पुस्तक सार्वजनिकगरेका हुन् ।

उहिलेको पत्रकारितामा ज्येष्ठ पत्रकारहरूको अनुभव र डिजिटल साक्षरतामा सञ्चार प्रविधिसम्बन्धी विषय समेटिएको छ। पुस्तक विमोचन गर्दै मन्त्री खनालले समाजको अवस्थाका बारेमा जानकारी प्राप्त गर्न सूचना प्रविधिसँग जोडिनु आवश्यक भएको बताए । उनले पछिल्लो समय विकसित भएको प्रविधिको प्रयोग नगरेमा पछाडि पर्ने बताउँदै प्रकाशित दुवै पुस्तक इतिहासको उत्खनन भएको बताए । दुवै पुस्तकले हिजो हामी कहाँ थियौँ र अब हामी कता जाँदै छौँ भन्ने जानकारी प्राप्त गर्न सहयोग पुग्ने बताए ।

मन्त्रालयका सचिव नारायणप्रसाद शर्माले पुस्तक प्रकाशनले अभिलेखीकरणमा सहयोगसँगै मन्त्रालयको जिम्मेवारीअनुसारको उचाइ बढाउन सहयोग पुगेको बताए । 

प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले उहिलेको पत्रकारितामा नेपालका ज्येष्ठ पत्रकारको विगतको अनुभव रहेको भन्दै डिजिटल साक्षरता पुस्तकले हामीले प्रयोग गर्दै आएका सञ्चार प्रविधिका बारेमा थप जानकारी प्राप्त गर्न सहयोग पुग्ने बताए । उनले सञ्चार रजिष्ट्रारको कार्यालयले प्रकाशित गरेको पत्रकारितासम्बन्धी पुस्तकलाई त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रमका राख्न लागेको भन्दै कार्यालयले प्रकाशित गरेको पत्रकारितासम्बन्धी पुस्तक साझा प्रकाशनमार्फत प्रकाशित गर्ने तयारी गरिएको जानकारी दिए । 

उहिलेको पत्रकारितामा पत्रकारहरू भैरव रिसाल, नारायणप्रसाद शर्मा, कृष्णा ताम्राकार, लालध्वज देउसा राई र रामकृष्ण रेग्मीका पत्रकारिताका विगतका अनुभव समेटिएको छ।