२०८१ बैशाख १९, बुधबार    

वाग्मती प्रदेशसभाको वैठक सूचना टाँसेर स्थगित

२०८० भाद्र १८, सोमबार १८:४० बजे

वाग्मती प्रदेशसभाको वैठक सूचना टाँसेर स्थगित भएको छ ।

सोमबार दिउँसो १ः३० बजेका लागि बोलाइएको प्रदेशसभाको वैठक सूचना टाँसेर स्थगित भएको हो । विपक्षी दलहरुले सरकारले विगतमा गरेको सहमति पालना नगरेकोभन्दै प्रदेशसभाको वैठक चल्न नदिने चेतावनी कार्यव्यवस्था तथा परामर्श समितिको वैठकमा दिएपछि सदन सञ्चालन हुन नसकेको हो ।

प्रदेशसभा सञ्चालन गर्न सभामुख भुवनकुमार पाठकले पटकपटक बैठक राखेपनि ठोस सहमति नभएपछि सदन सञ्चालन नै नभइ स्थगित भएको हो । प्रदेशसभाको अर्को वैठक २० गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट पारित गरेसँगै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बैठक ५९ दिनपछि सोमबार बस्न थालेको थियो ।

प्रदेशसभाको कार्यसूची तय गर्न बसेको वैठकमा दलहरुवीच विवाद भएपछि करिब ५ घण्टा ढिलो सूचना टाँस गरी वैठक स्थगित गरिएको हो ।
सदन सञ्चालनको लागि संसद् सचिवालयमा विधेयक पेश हुन नसक्दा बैठक अनिश्चित बनेको थियो । सरकारले केही विधेयक दर्ता गरेसँगै बैठक डाकिएको हो । प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार सरकारका तर्फबाट हालसम्म ३ वटा विधेयक सदनमा दर्ता भएका छन् ।